काठमाडौँ, पुस १६ गते । सातौँ तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि थापाथली चेस पार्क क्लबले जितेको छ ।
नेपाल बुद्धिचाल महासङ्घको आयोजनामा सम्पन्न प्रतियोगिताको फाइनलमा थापाथलीले ललितपुर स्पोर्ट्स क्लब लाई हरायो । चेस पार्कले क्लासिकल ९० मिनेट ३० सेकेन्ड इन्क्रिजमेन्टको गेममा २–२ अङ्कको बराबर गर्दै र्यापिड चरणसम्म पुगेर सफल भएको हो ।
क्लासिकल खेल रोमाञ्चक बराबरीमा टुङ्गिएको थियो । पहिलो वाेर्डमा चेस पार्कका एफएम रिजेन्द्र राजभण्डारी स्पोर्ट्स क्लबका सिएम सजिन महर्जनसँग हार खेप्नुभयो । चौथो वोर्डको स्पर्धामा महिला च्याम्पियन सिन्दिरा जोशी बिनिता कपालीसँग पराजित हुनुभयो ।
दोस्रो वोर्डमा खेल्नुभएका सुशील चौधरीले शैलेन्द्र न्यौपानेमाथि जित दर्ता गर्नुभयो । तेस्रो वोर्डमा आशीष फुँयालले रिसोन थापालाई टाइम आउट गर्दै स्कोर २–२ बनाउनुभएको थियो । त्यसपछि र्यापिड चरणमा थापाथलीले बाजी मारेको थियो ।
उपाधिसँगै थापाथलीले दुई लाला रुपियाँ पुरस्कार पायो । उपविजेता ललितपुर स्पोर्ट्स क्लबले एक लाख २० हजार रुपियाँ पुरस्कार पायो । ललितपुर महानगरपालिका टिम तेस्रो बन्दै ६० हजार र चौथो भएको साविक विजेता दोलखा चेस होमले ४० हजार रुपियाँ पुरस्कार पायो ।
प्रतियोगितामा २० टिमको सहभागिता रहेको थियो । विजेतालाई राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङलगायतले पुरस्कार प्रदान गर्नुभयो ।