ललित बसेल
सुर्खेत, पुस १६ गते । जङ्गलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायलाई भत्ताभन्दा पोसिलो खानेकुरा दिनुपर्ने आवाज उठेको छ । भत्ताको रकमले उनीहरूले मदिरा तथा अन्य फजुल खर्च गर्ने र स्वास्थ्यमा समस्या आउन थालेपछि उनीहरूलाई भत्ताको सट्टा पोसिलो खानेकुरा दिनुपर्ने जनाइएको छ ।
राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेशले सुर्खेतमा आयोजना गरेको एक कार्यक्रममा राउटे समुदायलाई दिइने भत्तालाई व्यवस्थित गर्नुपर्ने सुझाव पनि दिइएको छ । राउटेलाई सामाजिक सुरक्षा भत्ताबापत दिइने रकम राउटे समुदायले मदिरा सेवनमा खर्च गर्ने गरेको भन्दै राउटेको स्वास्थ्यमा गम्भीर असर परेको छ ।
कर्णाली युवा परिषद्का कार्यकारी उपाध्यक्ष राजेन्द्र अधिकारीले राउटेलाई दिइने सामाजिक सुरक्षा भत्ता रकमको सट्टा पोसिलो खानेकुरा वितरण गर्नुपर्ने सुझाव दिनुभयो । उक्त रकम बराबरको पोसिलो खानेकुरा र लत्ताकपडा दिइनुपर्ने उहाँले औंल्याउनुभयो । उहाँका अनुसार मदिराका कारण राउटेको स्वास्थ्य जोखिममा परेको छ ।
गैरसरकारी संस्था महासङ्घ सुर्खेतका अध्यक्ष प्रकाश सारूले राउटेलाई देखाएर धेरैले आफ्नो दुनो सोझ्याएको आरोप लगाउनुभयो । उहाँले पनि राउटेलाई दिइएको भत्ताले उनीहरूको जीवनशैली बिग्रेको भन्दै अब त्यसको साटो खाद्यान्न, लत्ताकपडामा दिइनुपर्ने बताउनुभयो । राउटे समुदायलाई सहयोगका नाममा सङ्घ संस्थाले परनिर्भर बनाई अस्तित्व सङ्कटमा पार्ने काम गरेकोमा भन्दै उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो । राउटे समुदायलाई दिइने सहयोग आफूखुसी नभई एकद्वार प्रणालीमा लैजानुपर्ने सुझाव पनि उहाँले दिनुभयो । मानव अधिकार रक्षक सञ्जाल कर्णाली प्रदेशका संयोजक पीताम्बर ढकालले राउटेको मानव अधिकारको रक्षा गर्नुपर्ने बताउनुभयो । विगतको भन्दा राउटेको अवस्थामा केही परिवर्तन भए पनि गाँस, बास र कपास; शिक्षा स्वास्थ्य र रोजगारीको अवस्थामा पनि ध्यान दिन जरुरी रहेको उहाँको सुझाव छ । मानव अधिकार रक्षक सञ्जालका संयोजक शर्मिला बिसीले राउटेले चाहेकोभन्दा आफ्नो फाइदाका लागि मात्रै सहयोग गर्ने गरिएको भन्दै अब उनीहरूको आवश्यकता अनुसार काम गर्न सङ्घ संस्थालाई आग्रह गर्नुभयो ।
राउटे समुदायमा काम गर्दै आएको संस्था सोसेक नेपालका कार्यकारी प्रमुख हिरासिंह थापाले राउटे समुदाय घट्दै गएकामा चिन्ता व्यक्त गर्नुभयो । उहाँले कल्याल, रास्कोटी र सोवंशी गरी तीन वटा समुदाय रहेको भन्दै एउटै समुदायका केटा र केटीको विवाह नहुने सामाजिक परम्परा भएका कारण धेरै युवा विवाह नगरेर बसेको उल्लेख गर्नुभयो । अहिले एकल महिला २३ जना रहेको भन्दै उहाँले राउटे समुदयमा एकल महिलाले दोस्रो विवाह गर्न नपाउने प्रचलनका कारण पनि जनसङ्ख्या घटेको बताउनुभयो । अहिले राउटेको सङ्ख्या १३८ रहेको छ ।
सुर्खेतका प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यले राउटे ठाउँ ठाउँमा बसाइँसराइ गरे पनि उनीहरूको सुरक्षालाई ध्यान दिइएको बताउनुभयो । राष्ट्रिय मानव अधिकार आयोगका मुरारी खरेलले राउटेको पनि मानव अधिकार प्रत्याभूति गराउन जरुरी रहेको उल्लेख गर्नुभयो । मानव अधिकार आयोगले राज्यको यथोचित ध्यान पुग्न नसक्नु, कमजोर जनस्वास्थ्य, कुपोषण, उपचारमा पहुँच नहुनु/नराख्नु, प्रजनन स्वास्थ्य अभाव, गुणस्तरहीन परम्परागत आवासमा बसोबास, मौसम अनुकूल लत्ताकपडा अभाव, स्वच्छ खानेपानी तथा सरसफाइको अभाव जस्ता कारणले राउटेको जनसङ्ख्या ऋणात्मक बन्दै जान थालेको भन्दै सरकारलाई विभिन्न सुझाव दिएको छ ।