देवरामप्रसाद यादव
सप्तरी, पुस १५ गते । मधेस प्रदेशका गृह सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले वर्तमान लोकतान्त्रिक व्यवस्था ल्याउनुमा सञ्चारकर्मीको अग्रणी भूमिका रहेको बताउनुभएको छ ।
आम सञ्चार प्राधिकरण मधेश प्रदेशद्वारा यहाँ सोमबार आयोजित साइबर सुरक्षा र एआईसम्बन्धि एकदिने अभिमुखिकरण कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
कार्यक्रममा मन्त्री लेखीले राजनीतिक परिवर्तनमा पत्रकारको भूमिका अतुलनीय रहेको बताउनुहुँदै पत्रकारप्रति आम जनताको ठुलो आशा, भरोसा र विश्वास रहेकाले थप जिम्मेवार, मर्यादित हुँदै नयाँ प्रविधिको उपयोग गरी समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले राजनीतिसँगै समाजमा रहेको विकृति न्युनीकरण गर्ने समाचारलाई प्राथमिकतामा राखी सामाजिक रूपान्तरणमा टेवा पुग्ने सन्देशमूलक समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभयो । स्थानीय ठाउँको परिवर्तनका लागि पत्रकारसहित स्थानीयको अहम् भूमिका रहेको बताउनुभयो ।
सप्तरी गणतन्त्रवादी नेता, मधेश आन्दोलनका नेता, आदिवासी तथा थारू आन्दोलनका नेता, सङ्घीयता, समावेशीताको नेता, सशस्त्रका नेतृत्व गर्ने नेताहरूको जन्मभूमि रहेको ऐतिहासिक जिल्ला रहे पनि जिल्लाको अपेक्षित विकास हुन नसकेको बताउनुभयो ।
उहाँले पत्रकारको समस्याप्रति आफू सम्वेदनशील रहेको बताउनुहुँदै प्रदेशका पत्रकारका लागि एक लाख रुपियाँको स्वास्थ्य बीमा र ७ लाखको दुर्घटना बीमा सुविधा सरकारले दिएको बताउनुभयो । उहाँले चाँडै मधेश प्रदेशका अग्रज पत्रकारलाई सरकारको तर्फबाट सम्मान गर्ने कार्यक्रम राखिएको बताउनुभयो ।
आम सञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेश प्रदेशका पूर्व शिक्षा तथा संस्कृतिमन्त्री महेशप्रसाद यादव, मधेश प्रदेश सदस्य किरणकुमारी साह, प्रमुख जिल्ला अधिकारी भोला दाहाल, नेपाल पत्रकार महासङ्घ मधेश प्रदेशका सल्लाहाकार अवधेशकुमार झा, नेपाल पत्रकार महासङ्घ सप्तरीका अध्यक्ष श्रवण देव, लगायतले पत्रकारले भोग्दै आएको विभिन्न समस्याको बारेमा आफनो विचार व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा साइबर अपराध र एआई प्रविधिको महत्त्व र आवश्यकताबारे जीवन भण्डारी र प्रकाश गौतमले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा सप्तरी जिल्लालाई कार्यक्षेत्र बनाएर राष्ट्रिय तथा स्थानीय सञ्चारमाध्यममा कार्यरत पत्रकारको सहभागिता थियो ।