निशा राई
धरान, पुस १५ गते । धरान उपमहानगरपालिका-२० मा रहेको विष्णुपादुका मन्दिरमा पितृ श्राद्ध गर्ने भक्तालुजनहरूको बिहानैदेखि भीड लागेको छ ।
बुवा आमा नहुनेहरूले खोला, नदी, मठ मन्दिरमा गएर पितृ तर्पण गर्ने चलन रहेकोले यहाँ आएर श्राद्ध गरे पितृ मोक्ष प्राप्त गर्ने विश्वास छ । आज सोमबारे औँसी तिथि श्राद्ध, तर्पणका लागि पनि महत्त्वपूर्ण रहेकोले विष्णुपादुका मन्दिरमा पूजा गर्नेको भीड छ ।
विष्णुपादुका मन्दिर सुनसरी जिल्लाको प्रख्यात धार्मिक स्थल हो । धरानदेखि ४ किलोमिटर उत्तर पश्चिममा कोकाहा नदीको किनारमा रहेको विष्णुपादुकाको महत्त्वलाई मोक्ष प्राप्त गर्न नसकेका आफ्ना पितृलाई तर्पण गरी भगवान विष्णुले पहिलो श्राद्ध गरी, श्राद्ध परम्पराको थालनी गरेका स्थानको रूपमा रहेको पुराणमा उल्लेखित छ ।
प्रत्येक वर्षको पौष शुक्ल औंशीका दिन आफ्ना पितृहरूलाई पिण्ड तर्पणका लागि लाखौंको सङ्ख्यामा हिन्दू धर्मावलम्वीहरू यहाँ आउने गर्दछन् । यहाँ श्राद्ध गरेपछि भारतको काशी र गया गएर श्राद्ध गर्नु नपर्ने जनविश्वास रहेको धरान १५ निवासी दीपक बुढाथोकीले बताउनुभयो । आमा बुवा नहुनेले औँसी पर्वका दिन श्राद्ध, तर्पण, सिदा दान लगायत गरी मनाउँछन् । यसका लागि सोमबार परेको औँसी विशेष मानिने बुढाथोकीले बताउनुभयो ।
यस मन्दिरको स्थापना वि.सं. १९७० मा स्थानियवासी लक्ष्मण घिसिङले मन्दिर भएको स्थलमा उत्खनन् गर्दा पाउको छापसहितको ढुङ्गा फेला पारेपछि विष्णुको पाउ भएको विश्वास गर्दै पूजा गर्न थालिएको हालको पुजारी ईमानसिंह तामाङले बताउनुभयो ।
पुजारी लक्ष्मण तामाङ (धामी)को देहवसान पश्चात उहाँको छोरा जसमान तामाङले पूजा अर्चना गर्दै आउनुभएको र उहाँको पनि देहवसान पश्चात उहाँकै छोरा चतुरमान तामाङले पूजाअर्चना गर्दै आउनुभएको हालका पुजारी ईमानसिंह तामाङले बताउनुभयो । यस मन्दिरमा तामाङ जातिका प्रमुख पुजारी रहे पनि पितृश्राद्धको विधि चाहिँ ब्राह्मण पुजारीले नै गर्छन् । धार्मिक र जातीय सद्भावको उत्कृष्ट नमुना उक्त मन्दिरमा तामाङ जाति पुस्तौंदेखि पुजारीका रूपमा रहेका छन् ।
विष्णुपादुका मन्दिरमा बिहानैबाट पूजा गर्न भक्तालुजनहरूको भीड लागेकोले सर्वसाधारणको सुरक्षाका लागी ईलाका प्रहरी कार्यालय धरान सुनसरीबाट प्रहरीले सुरक्षा दिइरहेका छन् भने अशक्त, बुढापाकाहरूलाई सहयोग पनि गरिरहेको छ । यस ठाउँमा आज दिनभर मेला लाग्ने गर्दछ ।
धरान लगायत नेपालको तीर्थस्थलमा आजको दिन विधिपूर्वक श्राद्ध गर्ने भक्तजनको घुइँचो लाग्छ । सोमबारे औँसीको दिन आज बिहान मौन स्नान गरी पनि मनाइन्छ । आजका दिन बिहान उठेर नबोलीकन स्नान गरे मनोकाङ्क्षा पूरा हुने शास्त्रीय मान्यता छ ।