शारदाकुमारी मानन्धर
कविता ः सांसारिक जीवन
जीवन यो समस्यै समस्याले घेरिएको,
कर्तव्य र दायित्वको डोरीले बेरिएको ।
सांसारिक परिस्थितिको घेरामा परेको,
अनौठो सामाजिक बन्धनमा बाँधिएको ।।१।।
लाग्छ कहिले त बन्दीगृहको कैदीजस्तो,
अनि आफैलाई लाग्छ जीवन साह्रै सस्तो ।
अपराधबिना पनि आरोप लागेजस्तो,
अत्याधुनिक संसारको नियम नै यस्तो ।।२।।
एकातिर शक्तिमानहरूको बोलवाला,
अर्कोतिर निमुखाहरूको निरिह हाल ।
बलियाहरू र निर्धाहरूको चाल ढाल,
देख्दा हुन्छ मनमा साह्रै उथल पुथल ।।३।।
किन हुन्छ पक्षपात ईश्वरीय सृष्टिमा ?
अनि हुन्छ उँचनिच मानवीय दृष्टिमा ।
बुझ्नै सकिन्न यो विश्वलाई समष्टिमा,
बादल अनि वर्षा र असिनाको वृष्टिमा ।।४।।
पाको न्यूरोड, काठमाडौं ।