• ९ वैशाख २०८२, मङ्गलबार

चिसो मौसममा पनि अन्नपूर्ण चढ्न आरोही आए

blog

अन्नपूर्ण प्रथम हिमाल र आधार शिविरस्थित पञ्चकुण्ड ताल । फाइल तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य

म्याग्दी, पुस १५ गते । चिसो मौसममा पनि अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि आरोहीहरू आएका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा पर्ने ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आरोहणका लागि आएका चार जना विदेशी पर्वतारोहीहरू आधार शिविर पुगेका हुन् । यो मौसममा हिमाल आरोहण जोखिमपूर्ण हुन्छ । 

नारच्याङबाट सुरु हुने मौरिस हर्जोग पदमार्गका रूपमा परिचित अन्नपूर्ण आरोहण मार्ग हुँदै आरोहीहरू आधार शिविर पुगेको पदमार्गका अभियन्ता तेज गुरुङले बताउनुभयो । उहाँका अनुसार यो महिनाभरीमा अन्नपूर्ण आरोहण गर्ने पर्वतारोहीहरूको योजना रहेको छ । उहाँका अनुसार सेभेन समिट ट्रेकिङ कम्पनीबाट स्पेन, इटाली र इराकका चार जना पर्वतारोही अन्नपूर्ण हिमाल आरोहणका लागि आएका हुन् । आरोहीहरू आइतबार चार हजार एक सय ९० मिटर उचाईमा रहेको आधार शिविर पुगेका छन् । आधार शिविरमा बसेर हिमाल आरोहणका लागि आरोहीहरूले आवश्यक तयारी गर्ने पदमार्गका अभियन्ता गुरुङको भनाइ छ । 

गत वर्षदेखि यो सिजनमा पनि आरोहीहरू अन्नपूर्ण आरोहणका लागि आउन थालेको मौरिस हर्जोग पदमार्गका अभियन्ता गुरुङले बताउनुभयो । नेपाली सहयोगी र शेर्पासहित आएका पर्वतारोहीहरू आधार शिविरमा बसेर हिमाल आरोहणको तयारी गर्ने उहाँले बताउनुभयो ।