• ५ माघ २०८१, शनिबार

च्याउ मेला तथा परिकार महोत्सव हुने

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस १५ गते  । राष्ट्रिय च्याउ दिवसको अवसर पारेर च्याउ मेला तथा परिकार महोत्सव हुन लागेको छ । च्याउ उत्पादक किसान सङ्घको आयोजनामा च्याउको उत्पादन, उपयोगिता, महत्व र बजारीकरण गर्ने उद्देश्य राजधानीको भृकुटीमण्डपमा सो महोत्सव हुन लागेको हो ।  च्याउ किसानको जागरुकता, व्यावसायिक उत्पादनद्वारा आत्मनिर्भरता भन्ने नाराका साथ मेला आयोजना गर्न लागिएको सङ्घले जनाएको छ ।

सङ्घका अध्यक्ष सन्तोष कार्कीले आत्मनिर्भर अवस्थामा गएको च्याउको प्रचारप्रसार गर्ने उद्देश्यका साथ राष्ट्रिय च्याउ दिवस मनाउन लागिएको जानकारी दिनुभयो ।  वार्षिक १५ अर्ब रुपियाँ बराबरको च्याउ उत्पादनसँगै कारोबार हुने गरेको उहाँले जानकारी दिनुभयो । सङ्घले पुस १५ लागि राष्ट्रिय च्याउ दिवसका रूपमा मनाउँदै आएको छ । मेलामा ४० वटा स्टल राखिने छ । च्याउका विभिन्न परिकारको प्रदर्शनीमा राखिने सङ्घले जनाएको छ । मेलामा गोभ्रे, कन्ये, किङ वयस्टर र सिताके च्याउ उत्पादनको व्यावहारिक प्रयोगात्मक प्रदर्शनी रहने जनाइएको छ । 

मुलुकभरमा च्याउ खेतीमा ३५ हजार किसान आबद्ध छन् ।  च्याउको बिउ उत्पादन गर्ने ल्याबको सङ्ख्या ६७ वटा छन् । विभिन्न ७० जिल्लामा च्याउ खेती विस्तार भएको र ४० जिल्लामा व्यावसायिक रूपमा च्याउ उत्पादन हुने गरेको बताइएको छ । सङ्घका अनुसार गोभ्रे च्याउ दैनिक आठ हजारदेखि १० हजार केजी उत्पादन हुने गरेको छ ।