• १७ पुस २०८१, बुधबार

वन्यजन्तु संरक्षणमा सदर चिडियाखानाको भूमिका उल्लेखनीयः वनमन्त्री ठकुरी

blog

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी राष्ट्रिय प्रकृति संरक्षण कोषले ललितपुरमा आयोजना गरेको सदर चिडियाखानाको २९ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै ।

ललितपुर, पुस १४ गते । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले सरकारले प्रकृतिको संरक्षण गर्ने जिम्मा लिएर काम गरिरहेको दाबी गर्नुभएको छ । आइतबार राष्ट्रिय प्रकृति संरक्षण कोषले ललितपुरमा आयोजना गरेको सदर चिडियाखानाको २९ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री ठकुरीले यस्तो दाबी गर्नुभएको हो ।

‘‘२९ वर्षमा सदर चिडियाखानाले वन्यजन्तुको व्यवस्थापन, संरक्षण, र आगन्तुकहरूलाई मनोरञ्जन प्रदान गर्न उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको पाइएको छ । सदर चिडियाखानाको व्यवस्थापन कोषलाई हस्तान्तरण भएपश्चात वन्यजन्तुको संरक्षण, बासस्थानको पुनर्निर्माण गरिएको छ भने एम्बुलेन्सको व्यवस्था, दक्ष जनशक्तिसहितको अस्पताल समेत सञ्चालनमा आएको छ ।,’’  उहाँले भन्नुभयो, ‘‘वन्यजन्तुहरूलाई उपयुक्त पोषण र पोषणयुक्त दानापानीको समेत व्यवस्था हुँदै आएको छ । साथै वन्यजन्तु कल्याणकारी व्यवस्थापनलाई प्राथमिकामा राखेर विभिन्न कार्यहरू हुँदै छ ।’’

उहाँले जलवायु परिवर्तन र पर्यावरणको प्रभावलाई न्युनीकरण गर्ने काममा सरकार सक्रिय रहेको बताउनुभयो । उहाँले सदर चिडियाखानाले वन्यजन्तुको व्यवस्थापन र संरक्षणमा उल्लेखनीय भूमिका खेलेको भन्दै प्रशंसा गर्नुभयो ।

‘‘चिडियाखानामा वन्यजन्तुको उपचार र पुनःस्थापनामा समेत वन तथा वातावरण मन्त्रालय मातहतका विभिन्न निकायहरूसँग सहकार्य र समन्वय गरी उल्लेख्य भूमिका निर्वाह पनि गरेको छ । सदर चिडियाखानाले संरक्षण शिक्षाका लागि डिजिटल प्लेटफर्मसहितको संरक्षण शिक्षा सञ्चालनमा ल्याइएको छ । हालसम्म चिडियाखानाले पाँच सय वटा विद्यालयसँग संरक्षण शिक्षामा विविध कार्यहरू गर्दै सराहनीय कार्य गर्दै आएको छ ।,’’ मन्त्री शाहीले भन्नुभयो, ‘‘यसबाट फ्रेन्ड्स अफ जूका माध्यमबाट सम्बन्ध विस्तार गरेको देखिन्छ । आगन्तुकहरूका लागि भौतिक पूर्वाधार समेत धेरै हदसम्म व्यवस्थापन भएको पाइएको छ । समग्रमा चिडियाखाना हालको अवस्थामा आइपुग्दासम्मका लागि आर्थिक रूपमा सञ्चालनका दिगो र सफल रहेको देखिन्छ ।’’

उहाँले चिडियाखानाको व्यवस्थापन राष्ट्रिय प्राकृतिक संरक्षण कोषलाई हस्तान्तरण भएपश्चात वन्यजन्तुको संरक्षण, बासस्थानको पुनर्निर्माण, वन्यजन्तु अस्पताल र वन्यजन्तुका लागि पोषणयुक्त दानापानीको समेत व्यवस्था गर्न सफल भएको दाबी गर्नुभयो । कोषको अध्यक्ष समेत रहनुभएका उहाँले वन्यजन्तु संरक्षणका लागि सबैको समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो ।

मन्त्री शाहीले भन्नुभयो, ‘‘नेपाल सरकार, वन तथा वातावरण मन्त्रालय र विषेश गरी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग वन तथा भूसंरक्षण विभाग लगायतको उल्लेख्य भूमिका छ । बद्लिदो परिवेशमा हामीले नयाँ ढङ्गबाट काम गरिरहेको अवस्था छ । अहिले हामी प्रकृतिको संरक्षण गर्ने जिम्माका साथै जलवायु परिवर्तन र पर्यावरणको प्रभावलाई न्युनीकरण गर्ने लगायतका कामहरू समेत गरिरहेका छौं ।’’

उहाँले मानव र वन्यजन्तुबिचको द्वन्द्व न्युनीकरण गर्नका लागि चिडियाखानाहरूको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो ।