• १७ पुस २०८१, बुधबार

पोखरामा ड्रागन बोट रेस सुरु

blog

अन्तर्राष्ट्रिय ड्रागन बोट रेस प्रतियोगितामा प्रतिस्पर्धा गर्दै सहभागी । तस्बिर : गोरखापत्र

फडिन्द्र अधिकारी

लेखनाथ, पुस १४ गते । पर्यटन राजधानी पोखराको फेवातालमा आइतबारबाट अन्तर्राष्ट्रिय ड्रागन बोट रेस प्रतियोगिता २०२४ आरम्भ भएको छ । 

दोस्रो संस्करणको यो प्रतियोगिता कुल २० समूहको सहभागिता छ । प्रतियोगितामा नेपालका विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्ने ११ समूह, चीनका विभिन्न प्रान्तको प्रतिनिधित्व गर्ने आठ र सिङ्गापुरको एक समूह सहभागी छन् । आइतबार दुई सय मिटर र पाँच सय मिटरतर्फ पहिलो चरणका खेल भएका छन् ।

सोमबार सेमिफाइनल र फाइनल चरणका खेल हुनेछन् । गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपाल स्थित चिनियाँ राजदूतावास र नेपाल पर्यटन बोर्डको आयोजनामा प्रतियोगिता भएको हो । नेपाल ड्रागन बोट एसोसिएसन, पोखरा पर्यटन परिषद् र ओभरसिज चाइनिज एसोसिएसन पोखरा प्रतियोगिताका सहआयोजक छन् ।

प्रतियोगितामा गण्डकी, बागमती, कर्णाली, त्रिभुवन आर्मी क्लब, ड्रागन बोर्ट गण्डकी, बेगनास टोली, रुपाताल टोली र नेपाल  र्‍याफ्टिङ एजेन्सिज एसोसिएसन (नारा) सहित नेपालका ११ टोलीको सहभागिता छ । 

प्रतियोगिताका विजेताले पाँच हजार अमेरिकी डलर दोस्रो हुनेले दुई हजार र तेस्रो हुनेले एक हजार दुई सय डलर पुरस्कार पाउनेछन् । सहभागी अरु समूहले पनि प्रोत्साह स्वरूप पाँच सय डलर पाउनेछन् । 

प्रतियोगिता उद्घाटन गर्दै नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले यस्ता प्रतियोगिताले पर्यटन प्रवर्धनमा मात्रै नभई नेपाली र चिनियाँ नागरिकबीच सुमधुर सम्बन्ध कायम गर्न सघाउने विचार राख्नुभयो । 

“खेलकुदले देश र समुदायलाई एकताको सूत्रमा बाँध्छ,” उहाँले भन्नुभयो । मन्त्री चौधरीले सर्वोच्च अदालतको आदेश र सरकारको निर्देशनविपरीत नेपाल ओलम्पिक कमिटीअघि बढेको भन्दै कारवाही गर्ने चेतावनी दिनुभएको छ । उहाँले अध्यक्ष जीवनराम श्रेष्ठसँग तीन दिनको स्पष्टीकरण माग गरिएको सुनाउँदै जवाफका आधारमा कारबाही हुने प्रष्ट पार्नुभयो ।

प्रतियोगिताले नेपाल चीन सम्बन्धमा नयाँ आयाम थप्ने र पोखरामा वाटर स्पोर्टसका नयाँ सम्भावना खोज्न सघाउने पोखरा महानगरका प्रमुख धनराज आचार्यको भनाइ छ । पोखराका तालहरूलाई आकर्षणका केन्द्रका रूपमा विकास गर्ने, पोखरा र आसपासको पर्यटन विकासमा टेवा दिने उहाँले उल्लेख गर्नुभयो । “यहाँ भइरहने मेला, महोत्सवले पोखरालाई पर्यटन राजधानीका रुपमा स्थापित गर्न सघाएको छ,” उहाँले भन्नुभयो, “अन्तर्राष्ट्रिय खेलकुदका यस्ता गतिविधिले विदेशमा समेत पोखरा पर्यटन गर्न सहयोग पुगेको छ ।”

गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री बिन्दुकुमार थापाले यस खालका प्रतियोगितालाई प्रदेश सरकारले पनि सघाउँदै आएको उल्लेख गर्नुभयो । प्रतियोगितामा सहभागी हुन चीनबाट विमान चार्टड गरी एक सय २९ खेलाडी पोखरा आएका छन् । गत वर्ष चीनले प्रतियोगिताका लागि आठ डुङ्गा दिएकोमा यस वर्ष पनि थप आठ डुङ्गा दिएको छ । 

चीनमा लोकप्रिय रहेको ऐतिहासिक ड्रागन बोर्ड रेस गत वर्षदेखि पोखरामा औपचारिक प्रतियोगिताका रूपमा आयोजना गर्न थालिएको हो । गत वर्ष पोखराको फेवातालमा अन्तर्राष्ट्रिय र वेगनासताल राष्ट्रिय स्तरका प्रतियोगिता भएका थिए ।