• ८ वैशाख २०८२, सोमबार

सुम्हात्लुङ मिनी म्याराथनको उपाधि प्रताप र फुङनारालाई

blog

कार्यक्रमका आयोजक र अतिथिहरूसँग सामुहिक तस्बिर खिचाँउदै । तस्बिर : राधा लुइटेल

राधा लुइटेल 

फिदिम, पुस १४ गते । सातौं संस्करणको सुम्हात्लुङ मिनी म्याराथनको उपाधि पुरुषतर्फ पाँचथरको फिदिम १० का प्रताप लिम्बू र महिलातर्फ पाँचथरकै मिक्लाजुङकी पुष्पा शेर्मा (फुङनारा) सेर्माले जित्नुभएको छ ।

नगरपालिका–४ गढीस्थित ऐतिहासिकस्थल सुम्हात्लुङदेखि सुरु गरिएको साढे नौ किलोमिटर दुरीको म्याराथनमा २६ जना प्रतिष्पर्धीलाई पछाडी पार्दै २६ मिनेट ३० सेकेन्डमा पार गर्दै प्रतापले पहिलो स्थान सुरक्षित गर्नुभएको हो ।

उहाँले नगद ३० हजार रुपियाँ ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयो । २७ मिनेटमा निर्धारित दुरी पार गर्दै ताप्जेजुङ मैवाखोला गाउँपालिका–६ का अमिर तेङबुङ पुरुषतर्फ दोस्रो स्थान ओगट्न सफल हुनुभयो भने सप्तरीको राजविराजका अजितकुमार यादवले २७ मिनेट २७ सेकेन्डमा निर्धारित दुरी पार गरेर तेस्रो बन्दै क्रमशः २० र १० हजार नगद पुरस्कार पाउनुभयो ।

यसैगरी, महिलातर्फ प्रथम हुनुभएकी पुष्पाले आफ्ना ११ जना प्रतिष्पर्धीलाई उछिन्दै निर्धारित साढे पाँच किलो मिटर दुरी २१ मिनेट २७ सेकेन्डमा पूरा गर्नुभएको थियो भने सङ्खुवासभाको खाँदबारीकी नुनकला राईले २२ मिनेट र फिदिम १ की सविता राईले २३ मिनेट ५० सेकेन्डमा दुरी पार गर्दै तेस्रो स्थान सुरक्षित गर्नुभयो । उहाँहरूले क्रमशः १५, १० र ५ हजार नगद पुरस्कार सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्नुभयो ।

फिदिम नगरपालिका–४ स्थित ऐतिहासिकस्थल सुम्हात्लुङ गढीको पर्यटन प्रवर्द्धनका लागि वर्षेनी चासोक मेलाको अवसरमा मिनि म्याराथन आयोजना गरिँदै आएको छ । यो वर्ष साताैं संस्करणको म्याराथन प्रतियोगिता सम्पन्न भएको हो । धावक र विजेतहरूलाई प्रमुख अतिथिको आसनबाट फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्लेले पुरस्कार र प्रमाणपत्र प्रदान गर्नुभयो ।