• १३ पुस २०८१, शनिबार

अन्तर्राष्ट्रिय जैविक विविधता दिवस

साँघुरिँदै घोडाघोडीको जैविक विविधता (फोटो फिचर)

blog

घोडाघोडी तालभित्रै सिमेन्ट र कङ्क्रिटले बनाउँदै गरिएको दृश्यमञ्च

चाँदनी आचार्य
घोडाघोडी (कैलाली), जेठ ८ गते। आज मे २२ अर्थात् जेठ ८ गते अन्तर्राष्ट्रिय जैविक विविधता दिवस। विभिन्न चेतनामूलक कार्यक्रम गरी दिवस मनाउने गरिए पनि केही वर्षयता जैविक विविधताका विषयमा जनचेतनामूलक कार्यक्रम सेलाउँदै गइरहेका छन्।

पुरानो पुस्ताले नयाँ पुस्तालाई वन, वातावरण र जैविक विविधताका विषयमा जानकारी गराउन चेतना जगाउन यस्ता दिवसको महत्त्व रहन्छ। पछिल्लो समय जनसङ्ख्या वृद्धिसँगै मानवीय गतिविधिले अन्तर्राष्ट्रिय रुपमा परिचित भएका जैविक विविधताका क्षेत्र साँघुरिँदै गएका छन्। 

कैलालीमा पर्ने घोडाघोडी ताल पनि एक जैविक विविधताले महत्त्वपूर्ण सिमसार क्षेत्र हो। स्थानीय सरकार आएसँगै घोडाघोडी ताल क्षेत्रको भौतिक विकासमा जोड दिए पनि जैविक विविधताको संरक्षणका विषय भने छायामा पर्दै गइरहेको स्थानीयको गुनासो छ।

बाहिरबाट हेर्दा तालको बाहिरी आवरण फेरिएको छ तर भित्र रहेका महत्त्वपूर्ण जैविक विविधताको विषय साँघुरिँदै गएको स्थानीय पदम ढकाल बताउनुहुन्छ। ढकाल भन्नुहुन्छ ‘‘तालको क्षेत्रफल साँघुरिँदै छ पहिला पहिला भरिभराउ पानी हुने ठाउँ अहिले गाईवस्तु चर्ने चउर भएको छ, पहिलादेखि नै वन्यजन्तु हराउँदै गएका छन्। ताल पहिलाजस्तो छैन।’’

पहिला पहिला तालबाट बढी भएर बाहिर जाने पानीमा कछुवा र माछासँगै मानिसका खेतबारीमा भेटिने गरिएको भए पनि अचेल तालमा पानीको स्रोत घट्नाले जलचर प्रणालीसमेत घट्दै गएको स्थानीय बताउँछन्। २० देखि २५ किलोसम्मको कछुवा खेतमा भेटेको स्थानीय मैना ढकालले अनुभव सुनाउनुभयो।

‘‘अहिले त बस्ती पनि तालको चारैतिर छ, ठाउँठाउँमा वन अतिक्रमण भएको छ, घोडाघोडीलाई संरक्षण सँगसँगै पर्यटन विकास गर्ने भन्दै ताल वरपर विभिन्न निर्माणका काम भएका छन्, ताल पुरिँदैछ भने पानीको सतह पनि घट्दै गएको छ’’ स्थानीय ढकालले भन्नुभयो।

सबै जीवनका लागि साझा भविष्य निर्माण गर्दै जैविक विविधता दिवस मनाउँदै गरिँदा घोडाघोडीको संरक्षणको क्षेत्रमा काम गरेका संघ संस्था पनि अहिले सेलाउँदै गएका छन्। घोडाघोडी मञ्चका अध्यक्ष हेमबहादुर बमले अहिले संस्थासँग बजेट नभएकाले जैविक विविधता दिवससमेत मनाउन नसकिएको बताउनुभयो। उहाँले दिवस मनाउन सरकारी निकायले समेत खबर नगरेको गुनासो गर्नुभयो।

सबै जीवनका लागि साझा भविष्य निर्माण गर्दै जैविक विविधता दिवस मनाउँदै गरिँदा घोडाघोडीको संरक्षणको क्षेत्रमा काम गरेका संघ संस्था पनि अहिले सेलाउँदै गएका छन्। घोडाघोडी मञ्चका अध्यक्ष हेमबहादुर बमले अहिले संस्थासँग बजेट नभएकाले जैविक विविधता दिवससमेत मनाउन नसकिएको बताउनुभयो। उहाँले दिवस मनाउन सरकारी निकायले समेत खबर नगरेको गुनासो गर्नुभयो।

कुल २६ सय हेक्टर क्षेत्रफलमा फैलिएको घोडाघोडी ताल सन् २००३ मा विश्वरामसार सूचीमा सूचिकृत भई विश्व सिमसार क्षेत्रको रुपमा परिचित हुँदै आएको छ।

स्थानीय नेटवर्कका अनुसार, २०५७ सालमा अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयुसिएन) को अभिलेखमा १४० चरा रहेकोमा नेटवर्कले काम थालेपछि सन् २००९ मा २२६, सन् २०१४ मा २४८, सन् २०१९ मा २९९ र सन् २०२१ सम्म पुग्दा ३१९ प्रजातिका चरा घोडाघोडी ताल क्षेत्रमा पाइएका छन्।

यस्तै, ताल क्षेत्रमा सङ्कटापन्न कछुवा, मगरगोही, बाघ, मृग र अन्य स्तनधारी जन्तु पाइन्छन्। ताल क्षेत्रमा ३० प्रजातिका माछा, ३४ प्रजातिका स्तनधारी, सात प्रजातिका सरिसृप, ३२ प्रजातीका पुतली र ३१९ प्रजातिका रैथाने र घुमन्ते (पाहुना) चरा पाइने जानकारी बृहत घोडाघोडी ताल तथा पर्यटन विकास बोर्डले दिएको छ।

घोडाघोडीमा कमल, सुनाखरी, जङ्गली धानसहितका ६४७ प्रजातिका वनस्पति पनि पाइन्छन्। यी वनस्पति र वन्यजन्तुमध्ये कतिपय सङ्कटापन्न, दुर्लभ र आइयुसिएनको ‘रेड लिस्ट’ मा सूचीकृत छन्। पञ्जाकारमा फैलिएको घोडाघोडी तालसँग अन्य ताल पनि जोडिएका छन्। विगत केही वर्षयता सातवटा ताल सुकेर चौरमा परिणत भएका छन् भने तालमा आश्रित जैविक विविधतासमेत ह्रास हँुदै आएको छ।

अहिले पनि तालको वरपर संरक्षणको नाममा संघ, प्रदेश र स्थानीय सरकारले ठूलो बजेट खर्च गरेर सिमेन्ट र कंक्रीटजन्य निर्माणकार्य भइरहेको छ, यसले त्यहाँको जैविक विविधतालाई भविष्यमा अप्ठ्यारोमा पार्नसक्ने वातावरण विज्ञहरु बताउनुहुन्छ। जैविक विविधता संरक्षणमैत्री निर्माणकार्यमा  सबै तहको सरकारले ध्यान दिनुपर्ने देखिन्छ।