लहान समाचारदाता
लहान, पुस १४ गते । केही दशकअघि धान काटिसकेपछि पराल खरिदबिक्री हुने गथ्र्याे । केही वर्षयता किसानले ट्याक्टरले खेतीपाती गर्न थालेपछि परालको खरिदबिक्री नहुँदा किसानले चिन्ता व्यक्त गरेका छन् । एक कट्ठाको पराल पाँच सयदेखि एक हजारसम्ममा बिक्री गरेको अनुभव लहान–२ का कृषक रामअशिष महतोले सुनाउँदै अहिले खेतमा पराल यत्रतत्र राखिएको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “धानको पराल गाईभैँसीको आहारका रूपमा प्रयोग हुन्थ्यो । एक वर्ष पुग्ने गरी मङ्सिर पुसमा परालको सुरक्षित थुप्रो (टाल) लगाएर राख्ने गरिन्थ्यो । अब खेतीपातीका लागि पाल्ने गोरु पनि छैनन् । पशुपालन पनि ह्वात्तै घटेको छ । परालको खरिदबिक्री नै ठप्प भएको छ ।”
पूर्वपश्चिम जाने राष्ट्रिय राजमार्गको उत्तरी भेगमा आँप र उखु खेती हुने भेगका किसान पशुपालनमा लागेका छन् । पराल खरिद गर्न खेत खेतमा धान काट््नुभन्दाअघि नै आएर परालको बैना दिने गरेको अनुभव लहान–१३ का रघुवीर यादवले सुनाउनुभयो । उहाँका अनुसार पचास हजारको पराल बिक्री हुन्थ्यो । अहिले दस हजारको पनि पराल बिक्री हुँदैन । पशुपालन गर्नेको सङ्ख्या पनि घटेको छ ।
मेसिन लिएर धान काट्न थालेपछि पराल बन्दैन । खेतमै सडाएर मल बनाएमा खेत उर्वर हुने भएकाले पराल बिक्री गर्नुभन्दा मल हुनु नै राम्रो भए पनि हरेक खेतमा धान काट्ने मेसिन जाने कृषि सडक नहुँदा समस्या भइरहेको छ । लहान–२१ का कृषक भोरिल यादवले परालबाट प्राङ्गारिक मल बनाउने विधिबारे कृषकलाई ज्ञान सिप आवश्यक रहेको तर्क गर्नुभयो ।
यसै विषयमा कृषि ज्ञान केन्द्रका प्रमुख नरेन्द्र महासेठसँग जिज्ञासा राख्दा परालको सदुपयोग गरेर मल बनाउन र कृषकलाई पशुपालनतर्फ आकर्षित गराउन सिरहाको १७ वटै पालिकामा समन्वयात्मक कार्यक्रम गर्नुपर्ने अनुभूति भएको बताउनुभयो । महासेठले भन्नुभयो, “धानको पराललाई प्राङ्गारिक मल बनाउन पाए रासायनिक मलको मात्रा कम गर्न सकिने छ । यस विषयमा गाउँपालिका स्तरमा रहेको कृषि शाखालाई जोडिन आवश्यक देखिएको हो ।”
बासमती धानमा सोना मन्सुली धानको तुलनामा बढी पराल निस्किने भएकाले परालको उचित व्यवस्थापन गर्न हरेक पालिकाका कृषि शाखाले प्राङ्गारिक मल बनाउने कार्यलाई अघि बढाउने र पशु पालनतर्फ उत्तरी भेगको किसानलाई प्रोत्साहन गर्न र वैदेशिक रोजगारमा जाने युवालक्षित कृषिमा कार्यक्रम आउनुपर्ने वातावरणविद् दिनेश यादवको सुझाव रहेको छ ।