• १४ पुस २०८१, आइतबार

जलवायु परिवर्तनको असर कम गर्न प्रयासरत छौं : राणा

blog

जलवायु परिवर्तनका असरसम्वन्धि सुदूरपश्चिम सम्वादमा सहभागी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालगायत । तस्बिरः भावना जोशी

प्रकाशविक्रम शाह

धनगढी, पुस १३ गते । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले वर्तमान सरकार जलवायु परिवर्तनको असर कम गर्न जिम्मेवार भएर लागेको बताउनुभएको छ ।

शनिबार धनगढीमा नेपाल सरकारसँगको सहकार्यमा रुडुक लगायतका सङ्घ संस्थाद्वारा आयोजित सम्वाद कार्यक्रममा बोल्दै मन्त्री राणाले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनका असर कम गर्न तत्परता देखाउनुभएको चर्चा गर्नुभयो ।

उहाँले भन्नुभयो, “सरकार जलवायु परिवर्तनको असर कम गर्न पहलकदमी लिइरहेकाले सगरमाथा सम्वाद गर्ने तयारीमा रहेको चर्चा गर्नुभयो । हामीसँग स्रोतको कमी छैन, व्यवस्थापन मात्र गर्न सकेका छैनौं उहाँले भन्नुभयो, “जलवायु परिवर्तनका नकारात्मक असर सबै पक्षलाई पर्ने भएकाले स्थानीय तहहरूले पनि योजना बनाएर अघि बढ्नु पर्छ ।” 

जलवायु परिवर्तनका नकारात्मक असर कम गर्न नेपालको ठुलो योगदान छ, त्यसैले विश्व समुदायले हामीलाई सहयोग गर्नुपर्छ भनेर विश्वका विभिन्न मञ्चमा हामीले आवाज उठाएका छौं, त्यो काम जारी रहने छ, मन्त्री राणाले भन्नुभयो ।

सो अवसरमा बोल्दै वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले नेपालले दिगो वन व्यवस्थापनमा विश्वले थाहा पाउनेगरी सफलता पाएको बताउँदै जलवायु परिवर्तनका नकारात्मक असर कम गर्न जलवायुमैत्री कृषि लगायतका काम गरेर जिविकोपार्जनमा सहयोग पुगाइरहेको बताउनुभयो । 

नेपालले जलवायु परिवर्तनमा नगन्य योगदान गरेको छ, तर हामीले हरित ऊर्जा र हरित अर्थतन्त्रको विकासमा ध्यान दिन जरुरी छ, मन्त्री ठकुरीले बताउनुभयो । उहाँले विद्यालयका पाठ्यक्रममा समेत जलवायु परिवर्तनसम्बन्धी विषय समेटिनु पर्ने बताउँदै महिला, युवा बालबालिकाजस्ता क्षेत्रमा प्राथमिकतासाथ लगानी बढाइने विश्वास दिलाउनुभयो । 

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावल, प्रदेशसभा सदस्यहरू, गाउँ तथा नगरपालिकाका प्रमुख तथा प्रतिनीधिहरू, सुरक्षा क्षेत्र र गैरसरकारी क्षेत्रका प्रतिनिधिहरूको सहभागिता थियो ।