• १४ पुस २०८१, आइतबार

सुन्तला उत्पादनमा वृद्धि, किसान खुसी

blog

प्युठान नगरपालिका–१० छेपानेका किसान सुन्तला टिप्दै । तस्बिर : सुजल श्रेष्ठ

सुजल श्रेष्ठ

प्युठान, पुस १३ गते । झिमरुक गाउँपालिका–४ चुँधाराका दुर्गाप्रसाद पोख्रेलले यो वर्ष एक लाख रुपियाँ बढीको सुन्तला बिक्री गरिसक्नुभएको छ । ३२ रोपनी क्षेत्रफलमा रहेको सुन्तला बगैँचाबाट पोख्रेलले वार्षिक रूपमा लाखौँ रुपियाँ आम्दानी गर्दै आउनुभएको छ । 

गत वर्ष सुन्तला बिक्री गरेर छ लाख रुपियाँ आम्दानी गरेको पोख्रेलले बताउनुभयो । “अहिले गतसाल भन्दा धेरै राम्रो फलेको छ,” पोख्रेलले भन्नुभयो, “टिपेर बिक्री गर्नमै व्यस्त छु।” बगैँचाबाट ८० रुपियाँ प्रति केजी बिक्री गर्दै आएको उहाँले बताउनुभयो ।

त्यस्तै प्युठान नगरपालिका वडा नम्बर ९ छेपानेका रविलाला रोका मगरले २० वर्षदेखि सुन्तला खेती गर्दै आउनुभएको छ । छ रोपनी क्षेत्रफल जग्गामा रहेका करिब तीन सय बोटमा वर्षेनी फल्ने सुन्तला बिक्री गरेर नै उहाँको परिवारको गुजारा चलेको छ । “वार्षिक रूपमा कति आम्दानी हुन्छ भनेर लेखाजोखा राख्ने गरेको छैन,” रविलालले भन्नुभयो, “परिवारको खर्च यसैबाट चलेको छ ।” पकेट क्षेत्रको रूपमा रहेको यस क्षेत्रमा पछिल्लो समय खेती विस्तार हुँदै गएको उहाँ बताउनुहुन्छ । गाउँमा ३५ परिवारले सुन्तला र कमला खेती गर्ने गरेको उहाँको भनाइ छ ।

सोही ठाउँकै जिना कुमारी घर्तिमगरको पनि बगैँचामा दुई सय बोट सुन्तला छन् । उत्पादन भएका सुन्तला किन्न ग्राहक गाउँमै आउने उहाँले बताउनुभयो । अहिले गाउँसम्म मोटर बाटो समेत पुगेको छ । जसले गर्दा व्यापारीहरू गाउँमा पुगेर खरिद गर्ने गर्दछन् ।

प्युठान नगरपालिका–१० छेपाने, झिमरुक गाउँपालिका–५ चुँधारा, झिमरुक गाउँपालिका–७ तुषारा, स्वर्गद्वारी नगरपालिका–२ धनवाङ सुन्तला खेतीका लागि पकेट क्षेत्र हुन । दुई सय ३५ हेक्टर क्षेत्रफलमा व्यावसायिक रूपमा सुन्तला खेती हुने गरेको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय प्युठानका निमित्त प्रमुख उमेशचन्द्र श्रेष्ठले बताउनुभयो। 

यस वर्ष दुई हजार चार सय ६७ मेट्रिकटन सुन्तला उत्पादन भएको श्रेष्ठले बताउनुभयो । अघिल्लो वर्ष दुई हजार ३३५ मेट्रिकटन सुन्तला उत्पादन भएको श्रेष्ठले जानकारी दिनुभयो।