• ५ जेठ २०८१, शनिबार

१५ वडाको नतिजा: आठ कांग्रेस, सात एमाले विजयी

काठमाडौं महानगर प्रमुखमा बालेन र उपप्रमुखमा सुनीताको अग्रता फराकिलो

blog

फाइल तस्बिर

काठमाडौं, जेठ ८ गते। काठमाडौं महानगरपालिका प्रमुखमा “लौरो” निर्वाचन चिह्न रहेका स्वतन्त्र उममेदवार बालेन शाह फराकिलो मतसहित निरन्तर अग्रस्थानमा हुनुहुन्छ। आइतबार दिउँसो ४:३० सम्म एक लाख दस हजार ८६० मतगणना भइसक्दा बालेनले ४० हजार ५१ मत प्राप्त गर्नुभएको छ। 

काठमाडौंको निर्वाचन अधिकृतको कार्यालय अनुसार नेपाली कांग्रेसकी सिर्जना सिंहले २२ हजार ५८४ र नेकपा (एमाले) का केशव स्थापितले २१ हजार ८५१ मत ल्याउनुभएको छ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार मदनदास श्रेष्ठले तीन हजार ५४४ मत र स्वतन्‍त्र उम्मेदवार सुमन सायमीले चार हजार २३५ मत ल्याउनुभएको छ।

यसैगरी, महानगर प्रमुखमा निर्वाचन चिह्न तराजुमा ४३४, मादलमा ८२, चक्का पाङ्ग्रोमा ५४, कुखुराको भालेमा २३, दापसहितको खुकुरीमा ११, कमलको फूलमा १२, हृदयमा १७, करुवामा २२, किबोर्डसहितको कम्प्युटरमा २०, किताबमा १६४, पुतलीमा दस, खानेपानीको धारामा ३३ मत परेको छ।

यसैगरी, महानगरको उपप्रमुखमा एमालेका सुनिता डंगोल फराकिलो मतसहित निरन्तर अग्रस्थानमा हुनुहुन्छ। उहाँले ३९ हजार ८१६ मत ल्याउनुभएको छ। नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठले १३ हजार ८९५ मत ल्याउनु भएको छ। राप्रपाकी बिनिता मगैयाको सात हजार २६३ मत रहेको छ। उपप्रमुखमा निर्वाचन चिह्न तराजुमा एक हजार ७२४, मादलमा ११३, चक्का पाङ्ग्रोमा ७८, किबोर्डसहितको कम्प्युटरमा ४६, आधा खोसेलो निकालिएको मकैको घोगामा १०४, पुतलीमा आठ, बाघमा १५, लौरोमा चार हजार १२३, आँखीझ्यालमा चार हजार ९०४ मत प्राप्त भएको छ।

भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा अहिले वडा महानगरका वडा नम्बर ९, १०, ११, १२, १३ २२, २३, २५ र २६ को मतगणना जारी रहेको छ। हालसम्म, काठमाडौं महानगर अन्तर्गत वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८, २४, २७, २८, २९, ३०, ३१ र ३२ को मतपरिणाम घोषणा भइसकेको छ। 

काठमाडौं महानगरपालिका- १ को वडाअध्यक्षमा एमालेका भरतलाल श्रेष्ठ, २ मा एमालेका राजेन्द्रकुमार श्रेष्ठ, ३ मा एमालेका प्रेम थापा, ४ मा एमालेका दिनेश महर्जन, ५ मा एमालेका विरेन्द्र प्रजापति, ६ मा कांग्रेसका भुवन लामा, ७ मा कांग्रेसका विमल कुमार होडा, ८ मा कांग्रेसका आशामान संगत, २४ मा कांग्रेसका विनोदकुमार राजभण्डारी, २७ मा कांग्रेसका योगेश कुमार खड्गी, २८ मा कांग्रेसका भाइ राम खड्गी प्रकाश, २९ मा कांग्रेसका कुश ढकाल, ३० मा कांग्रेसका दलबहादुर कार्की, ३१ मा एमालेका सरोज ढकाल र ३२ मा एमालेका नवराज पराजुली विजयी भइसक्नुभएको छ।

महानगरका सात वटा वडामा एमाले र आठ वटा वडामा कांग्रेसका उम्मेदवार विजयी हुनुभएको छ। 

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।