• १४ पुस २०८१, आइतबार

महोत्तरीमा एनपिएल ट्रफी उत्साह

blog

मटिहानी र जलेश्वरमा जनकपुर बोल्ट्सका खेलाडीलाई स्वागत र सम्मान गरिँदै । तस्बिर : गोरखापत्र

नागेन्द्रकुमार कर्ण

महोत्तरी, पुस १३ गते । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जितेर जनकपुर फर्किएको जनकपुर बोल्ट्सका खेलाडी र टिम अफिसियललाई महोत्तरी जिल्लाको मटिहानी र जलेश्वरमा भव्य स्वागत गरिएको छ । 

जनकपुरबाट ट्रफीसहित शनिबार महोत्तरीको पिपरा हुदै मटिहानी प्रवेश गरेका खेलाडीहरूलाई मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले २५ किलोको मालासहित सम्मान र स्वागत गर्नुभएको हो । खेलाडीलाई हरेक ठाउँमा स्थानीयले सडकमा फूलमालासहित स्वागत गरेका थिए ।


जनकपुर बोल्ट्सका खेलाडीहरू अनिल साह, आसिफ शेख, ललित राजवंशी, क्यानका उपाध्यक्ष महोत्तरीको जलेश्वर निवासी रोशन कुमार सिंहलगायतका खेलाडी र टिमलाई स्वागत गरिएको हो । 

जनकपुर बोल्ट्सले पहिलो संस्करणको उपाधि पाएर मधेशको नाम उच्च बनाएको बताउनुहुँदै मटिहानी नगरप्रमुख हरिप्रसाद मण्डलले यो सम्मान र स्वागत सम्पूर्ण नेपाली खेलाडीको भएको बताउनुभयो ।

उहाँले एनपिएलको खेल हुँदै गर्दा सामाजिक सञ्जालहरुमा मधेश प्रति देखिएको कमेन्टहरूले हामी जनकपुरवासीहरू नेपाली नै नरहेको आभास दिलाएको बताउनुहुँदै जनकपुरले उपाधि जितेर त्यसको जवाफ दिएको बताउनुभयो । 


टिममा कोही पूर्वका कोही पश्चिमका गरी नेपालभरिकै खेलाडी भए पनि असामाजिक रूपमा गरिएको टिप्पणीले मधेशका बासिन्दाहरूलाई रुवाएको सम्झिनुहुँदै खेल र खेलाडीहरूले देशको नाम रोशन गरेकोले सम्मान गरिएको बताउनुभयो । 


मटिहानीमा सम्मानपश्चात जलेश्वर आइपुग्नुभएका खेलाडीहरूलाई जलेश्वर नगरपालिकाका नगरप्रमुख सुरेश साह सोनारले स्वागतसहित नगरपरिक्रमा गराउनुभएको थियो । खेलाडीहरूलाई जलेश्वरनाथ महादेव मन्दिरमा पूजापाठसहित त्यहाँ सम्मान र स्वागत गरिएको थियो । स्वागत र सम्मान कार्यक्रममा युवाहरूको भीड र नाचगान देखिएको थियो ।