• १४ पुस २०८१, आइतबार

टिप्पर दुर्घटनामा चालकको मृत्यु

blog

तिलाचन पाण्डे

तम्घास, पुस १३ गते । कालीगण्डकी काेरिडोरको सत्यवती दुई पहादीमा टिप्पर दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक भुपेन्द्र थापाका अनुसार शुक्रबार राती भएको टिप्पर दुर्घटनामा ओरालो बाटोमा ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमानमा खुलेको हो ।

रिडीबाट निर्माण सामग्री लिएर पुर्तिघाट जाँदै गरेको लु. १ क. ५४०० नम्बरको टिप्पर कालीगण्डकी काेरिडोरको सत्यवती दुई पहादीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । दुर्घटनामा चालक पाल्पा जिल्लास्थित रैनादेवी १ का २४ वर्षीय श्रीराम कुमालको मृत्यु भएको र सहचालक सल्यान जिल्ला वनगाउँ ७ का २३ वर्षीय मोहन जैसी घाइते भएको प्रहरी निरीक्षक भुपेन्द्र थापाले जानकारी दिनुभयो ।

घाइते जैसीको अवस्था सामान्य भएको र घटनाको बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । टिप्पर सडकदेखि करिब २५ मिटर तल खसेको प्रहरीले जनाएको छ ।