• १३ पुस २०८१, शनिबार

भ्रष्टाचार उधिन्ने उपन्यास ‘९६ गड्डी’

blog

आख्यानकार प्रकाश तिवारीका ‘परित्यक्त’, ‘निलोफर’ र ‘निहारिका’ उपन्यास यसअघि नै प्रकाशन भइसकेका छन् । तिनै उपन्यासले तिवारीलाई नेपाली साहित्यमा परिचित बनाइसकेको छ ।

सिर्जनकर्मको अर्को शृङ्खला उन्ने क्रममा ‘९६ गड्डी’ उपन्यास लिएर तिवारी पाठकबिच आउनुभएको छ । २८३ पृष्ठको संरचना र मूल्य ५९५ रुपियाँ रहेको यस उपन्यासको प्रकाशन पैरवी बुक हाउसले गरेको छ ।

उहाँको यस उपन्यासले नेपाली सामाजिक र राष्ट्रिय परिवेशको सन्दर्भमा एउटा फरक र पेचिलो विषयको बहसलाई उठाएको छ । यसमा उहाँले हरेक नेपालीले धिक्कारिरहेको तर आख्यानिक दृष्टिले लिपिबद्ध हुन नसकेको विषयलाई आँटिलो सर्जक बनेर उठान गरेको देखिन्छ ।

३० को दशकपछिको समय भोग्ने त्यस्तो कुनै पनि सचेत नेपाली छैन होला; जसले नेपालको राजनीतिक, सामाजिक तथा सांस्कृतिक परिवर्तन अनि सुशासन र समृद्धिका लागि आफ्नो कुनै न कुनै योगदान नदिएको होओस् । भौतिक, वैचारिक र मानसिक रूपमा सानादेखि ठुला योगदान दिएका र त्यसलाई प्रत्यक्ष अप्रत्यक्ष सघाएकामध्येबाटै आजको राजनीतिक नेतृत्व र राष्ट्रसेवक कर्मचारीको दस्ता तयार भएको हो । उपन्यास 

‘९६ गड्डी’ को पृष्ठभूमिसमेत यही परिवेशबाट प्रारम्भ भएको देखिन्छ ।

तत्कालीन समयमा परिवर्तनकामी वर्गद्वारा प्रतिबद्धता व्यक्त गरिएका महत्वपूर्ण सवालमध्ये देशमा भ्रष्टाचारलाई न्यूनीकरण गर्दै निर्मूल गर्नेसम्मको विषय निकै रुचाइएको र जोडतोडले उठाइएको विषय थियो । कालान्तरमा ती परिवर्तनका वाहकहरू निर्णायक स्थानमा पुग्न सफल भए । तिनले चाहे जस्तो राजनीतिक परिवर्तन पनि भए तर आज त्यो समस्या यति विकराल हुन पुग्यो कि तिनै मानिस भ्रष्टाचार जस्ता विकृति र विसङ्गतिको खाडलमा उठ्नै नसक्ने गरी जाकिन पुगे । यही विषयवस्तुलाई प्रस्तुत उपन्यासले उजागर गरेको छ ।

उपन्यासले उपर्युक्त परिणामबाट उत्पन्न जनआक्रोशलाई प्रतिविम्बन गरेको छ । खास गरी नेपाली जनताले छिटो छिटो ठुला किसिमका राजनीतिक परिवर्तनलाई आँखाले देख्नसम्म पाए । व्यवस्थाको परिवर्तनपछि आफ्नो जीवन अवस्था र त्यससँगसँगै राष्ट्रका विभिन्न निकायमा परिवर्तनले पालुवा हाल्लान् भन्ने उनीहरूले ठुलो आशा राखेका थिए । तिनीहरूमा आफूले चुनेका पदाधिकारीमा जनसेवाको भावना र जिम्मेवारीबोध आउला भन्ने अभिलाषा थियो तर जनचाहना अनुरूप परिवर्तनको कोपिला टुसाउने र फक्रिने अवसर पाउनै सकेन । विगतमा भ्रष्टाचार, विकृति, विसङ्गति, दमन, शोषण, निरङ्कुशता व्याप्त भयो भन्दै चर्का भाषण गर्ने र त्यसविरुद्ध अभियान चलाउने नै विकृति र विसङ्गतिका दलदलमा निस्कनै नसक्ने गरी गाडिन पुगे ।

आजको कर्मचारीतन्त्र चरम भ्रष्ट छ भन्ने जनगुनासो र पीडा जनस्तरमा रहेको छ । अहिलेको जकडिएको तहगत प्रशासन र निजामती तथा राजनीतिक क्षेत्रमा रहेको विकृति र भ्रष्टाचारबाट जनमन आजित भइसकेको परिस्थिति छ । 

उपन्यासकार प्रकाश तिवारीले यिनै विषयलाई आकर्षक प्रस्तुति र भाषामा ‘९६ गड्डी’ उपन्यासमा उतार्न सक्नु औपन्यासिकताको नयाँ फड्को मान्न सकिन्छ । विशेष गरी विकृत र भ्रष्ट व्यक्तिका कारण असल र सही मानिसले पनि अत्यन्तै पीडा भोगिरहेको वर्तमान सन्दर्भमा कर्मचारीतन्त्रभित्रका सुपात्र अर्थात् असल मानिस पनि कसरी विडम्बनापूर्ण स्थिति भोग्न पुग्छन् र अन्त्यमा आफ्नो वरिपरिको परिवेश, पारिवारिक कारण र बाध्यताजन्य अवस्थाले स्वयंमा त्यस प्रकारको कुचक्र र भुमरीमा फस्न पुग्छन् भन्ने कुरालाई उपन्यासकारले राम्ररी उजागर गर्न सकेका छन् । 

उपन्यासको प्रारम्भ भ्रष्टाचारीका बिचमा घुलमिल हुन नसक्दा डिप्रेसनमा गएको मूल पात्र विज्ञान मुक्तिनाथको प्राकृतिक परिवेशमा ध्यान गरेर फर्कंदै गर्दा उसका स्मरणमा आएका विगतका घटनाबाट भएको छ । विज्ञान, राजीव, कुमुदा जस्ता पात्रहरू विद्यार्थी राजनीतिमा सक्रिय रही देशको मुहार फेर्न र भ्रष्टाचारको अन्त्य गर्न लडिरहेका हुन्छन् । सङ्घर्षको चरणमै कुमुदाले परिवर्तनका लागि जीवनको  बलिदान गर्छिन् । बाँचेका सहिदको बलिदान र तिनका सपना साकार पार्न अघि बढिरहन्छन् ।

समयक्रममा विज्ञान र राजीव निजामती सेवामा प्रवेश गर्छन् । अत्यन्तै प्रतिकूल अवस्थामा पनि विज्ञान भ्रष्टाचारमुक्त र सुशासनयुक्त समृद्ध नयाँ नेपालको सपना बोकेर निरन्तर अघि बढिरहन्छ । किन्तु समयक्रममा विज्ञानभित्रको अविचल आस्था र निष्ठालाई गलाउने शक्ति हाबी हुन थाल्छ । अर्थात् शेखर, लक्ष्मण, गोपाल, चमनलाल, रामनारायण, सामनाका कारण बचेखुचेको नैतिकता र इमानदारी माटोमा मिल्न थाल्छ । फलतः भ्रष्टाचाररूपी गोमन फणा फिँजाएर राज गर्न सुरु गर्छ ।

भ्रष्ट व्यक्तिका चङ्गुलमा पर्दा विज्ञानले हिजोका त्याग, तपस्या र सपना बिर्सेर भ्रष्टाचारको दलदलमा आफूलाई समाप्त गर्छ । यसरी राष्ट्रलाई भ्रष्टाचारमुक्त गर्न हिँडेको एक अभियन्ता स्वयं भ्रष्टाचार काण्डमा परी ‘९६ गड्डी’ (नोटका बिटा) घुससहित रङ्गेहात पक्राउ पर्छ ! 

उपन्यासको अन्त्यमा जेलमा पुगेको विज्ञानले विगतमा आफूबाट भएको गल्ती, कमजोरीलाई गहन ढङ्गले मनन गरी प्रायश्चित्त गर्न तयार हुन्छ । यसबाट भ्रष्टाचारी जतिसुकै ठुलो ओहदाको किन होस्, एक दिन उसको दुर्दान्त अन्त्य हुन्छ र कुकर्मले मानिसलाई कहिल्यै खुसी दिन सक्दैन भन्ने तथ्यलाई सार्वजनिक गरिदिएको छ । उपन्यासले भ्रष्टाचारको अन्त्य यथाशीघ्र भइदेओस् भन्ने जनगुनासो वा जनआवाजको प्रस्तुतीकरणलाई नै आफ्नो मूल विषय बनाएको छ । 

लेखक स्वयं सरकारी सेवामा रहिसकेका पूर्वराष्ट्रसेवक हुन् । एउटा समीक्षकीय दृष्टिबाट हेर्दा लाग्छ, उपन्यासमा उल्लिखित कतिपय विषय लेखकको भोगाइभित्रबाट उधिनिएर आएका हुन सक्छन् । कुरा जे होस्, उपन्यासले जनमनका भोगाइ र पीडाको घतलाग्दो चित्रण गरेको छ; जसलाई लेखकको सफलता मान्न सकिन्छ । कृति समय सान्दर्भिक र यथार्थपरक छ । उपन्यासले विगतमा परिवर्तनका लागि लडेका, जेलनेल भोगेर राजनीतिक नेतृत्व र कर्मचारीतन्त्रभित्रको उच्च पदमा पुगेकालाई नराम्ररी झकझक्याउँछ । यही नै यस उपन्यासको मुख्य सफलता हो । 

उपन्यासमा भाव र भाषाको संयोजन अब्बल देखिन्छ । कृतिको सबल पक्ष यसको भाषा हो । भाषिक अभिव्यक्तिको दुरुह जञ्जालमा साहित्यको उत्कृष्टताको मापन गर्न चाहनेलाई त प्रस्तुत उपन्यास एउटा उत्कृष्ट उदाहरण नै बनेको छ । अत्यन्त छोटा वाक्य संरचना, सरल र घतलाग्दा अभिव्यक्ति संयोजन उपन्यासको शक्ति हो । 

उपन्यासमा लेखकलाई सुझाव दिनुपर्ने मुख्य दुई वटा सन्दर्भ पाइन्छन् । पहिलो, घटनाको पुष्टिका लागि केही पात्र अनायासै निर्माण भएको जस्तो देखिने र दोस्रो, मूल पात्र विज्ञानको सपनामा पटक पटक कुमुदाको प्रवेश हुनु । यसमा अन्य सिर्जनात्मकताको प्रयोग गर्न सकेको भए उपन्यास थप रोचक हुन सक्थ्यो ।

त्यसो त, आख्यानका क्षेत्रमा हरेक वर्ष सयौँको सङ्ख्यामा कृति प्रकाशन हुने गरेका छन् । यो एउटा नियमित प्रक्रिया नै हो तर प्रकाशित सबै कृतिले पाठकको मन जित्न सक्दैनन् । पाठकको मन जित्ने लेखक हुनु भनेकै सफल स्रष्टा बन्नु हो । त्यस्तो सफल स्रष्टा हुनका लागि लेखकमा विशिष्ट सर्जकीय गुण, क्षमता र मेहनत आवश्यक हुन्छ । समय र युगको शङ्खघोषमुताबिक कलम चलाउने लेखक नै उत्कृष्ट लेखक हो । 

नेपाली समाज यतिखेर भ्रष्टाचार नामको महारोगले जीर्ण र आक्रान्त बनेको छ । त्यस मानेमा महारोगको चिरफार अनि उपयुक्त औषधी ‘प्रेसक्राइव’ गरेबाट उपन्यासकार तिवारीले आफूलाई समयद्रष्टा सर्जकको पङ्क्तिमा उभ्याएको महसुस हुन्छ । नेपाली साहित्यलाई यस किसिमको सुन्दर कृति दिएर उपन्यासकारले सराहनीय र प्रशंसनीय काम गरेका छन् । प्रस्तुत कृति साहित्यका पाठकका निम्ति पठनीय, कलात्मक दस्ताबेज हो भन्दा फरक पर्दैन । 

 

Author

डा. रामचन्द्र फुयाल