गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस १३ गते । वैदेशिक रोजगार विभागले दोस्रो चरणमा इजरायलमा सहायक श्रमिक (केयर गिभर) मा जान छनोट भएका श्रमिकका लागि स्वास्थ्य परीक्षण गर्ने अस्पताल र समय तालिका सार्वजनिक गरेको छ ।
विभागले शुक्रबार इजरायल जान गोलाप्रथाबाट छनोट भएका सहायक श्रमिकको स्वास्थ्य परीक्षणका लागि पाँच वटा अस्पताल र समय तालिमका सार्वजनिक गरेको हो ।
विभागका अनुसार इजरायल जान छनोट दुई हजार ११२ जनाको स्वास्थ्य परीक्षणका लागि ललितपुरको नेपाल मेडिसिटी हस्पिटल भैँसेपाटी, स्टार हस्पिटल सानेपा र काठमाडौँका हेम्स हस्पिटल मन्डिखाटार, मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल स्वयम्भु र क्रिस्टल डायग्नोसिटक हस्पिटललाई तोकेको छ ।
विभागका अनुसार नेपाल र इजरायलबिच भएको श्रम सम्झौता अनुसार सरकारी संयन्त्रमार्फत दीर्घकालीन स्याहार केन्द्रमा नेपाली श्रमिक पठाउँदै आएको छ । इजरायलको विपाले सार्वजनिक गरेको नामावली अनुसार एक हजार १५६ महिला र ९५६ पुरुष गरी दुई हजार ११२ जना छनोट गरेको थियो ।