गोरखापत्र अनलाइन
काठमाडौं, पुस ११ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले पहिचानको प्रमुख आधार भाषा भएकाले गोरखापत्रले विभिन्न मातृभाषी पृष्ठ प्रकाशन गरेर प्रशंसनीय काम गरेको बताउनु भएको छ ।
गोरखापत्र दैनिकले आजदेखि सुरु गरेको ४५ औं मातृभाषा ‘वाम्बुले राई’ पृष्ठको मन्त्रालयमा बिहीबार लोकार्पण गर्नुहुँदै उहाँले सो कुरा बताउनु भएको हो । गोरखापत्रले नेपालमा बोलिने अन्य १२४ भाषा पनि क्रमशः थप गर्दै जानुपर्ने उहाँले सुझाव दिनुभयो ।
नेपाल विविधताले भरिएको र विभिन्न भाषा संस्कृतिले सम्पन्न मुलुक भएकाले सबैको सम्मान हुन आवश्यक रहेको छ भन्दै मन्त्री गुरुङले सरकार र मन्त्रालय त्यसमा सचेत रहेको बताउनुभयो । मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक अभ्यासमा रहेको र गोरखापत्र संस्थानले विविध भाषाका पृष्ठ प्रकाशन गरी समावेशिताको अभ्यास गर्नु राम्राे कार्य हाे भन्नु भयाे ।
भाषा र संस्कृतिले पनि राष्ट्र निर्माणको भूमिका निर्वाह गरिरहेको चर्चा गर्दै मन्त्री गुरुङले वाम्बुले राईको पृष्ठ प्रकाशनले सो समुदायको भाषा, संस्कृतिको संरक्षणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । नेपाली समाज इन्द्रेणीजस्तै भएको उल्लेख गर्दै उहाँले वाम्बुले समुदायलाई बधाई ज्ञापन गर्नुभयो ।
संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले गोरखापत्र संस्थान नेपाली पत्रकारिताको पाठशाला भएको चर्चा गर्नुहुँदै समावेशी पृष्ठले गोरखापत्रको गरिमा बढाउनुका साथै सरकारको कामको समेत गरिमा बढेकाे छ भन्नुभयाे । सूचना प्रकाशन गर्ने हाम्रो प्रमुख दायित्व भए पनि समावेशिताको पक्षमा संस्थानले ध्यान दिइरहेको उहाँले चर्चा गर्नुभयो ।
गोरखापत्रको नयाँ नेपाल पृष्ठले नेपाली समाजको चित्र र चरित्र पस्किने काम गरेको चर्चा गर्नुहुँदै उहाँले दक्षिण एशियामा सम्भवतः यत्ति धेरै भाषामा समाचार प्रकाशन गर्ने गोरखापत्र पहिलो पत्रिका रहेको उहाँले दाबी गर्नुभयो ।
संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले नेपालको विविधतासँगै भाषिक विविधतालाई प्रवर्धन गर्ने काम गोरखापत्र संस्थानले गरिरहेको बताउनुभयो । राज्यको हरेक संरचनालाई समावेशी चरित्रको बनाउन आवश्यक रहेको छ भन्नुहुँदै उहाँले आगामी दिनमा गोरखापत्रको प्रकाशन अझ व्यवस्थित बनाउँदै जाने विश्वास दिलाउनु भयो ।
राष्ट्रिय गानका रचनाकार व्याकुल माइला (प्रदीपकुमार राई) ले वाम्बुले राईका लागि पुस ११ गते ऐतिहासिक दिन भएको बताउनुभयो । गोरखापत्रले पृष्ठ प्रकाशन गरेर ठुलो गुन लगाएको उहाँले बताउनुभयो ।
वाम्बुले राई समाजका अध्यक्ष गजुरधन राईले गोरखापत्रमा वाम्बुले राई पृष्ठ प्रकाशन भएकोमा खुसी व्यक्त गर्दै गोरखापत्र संस्थान व्यवस्थापनलाई धन्यवाद दिनुभयो ।
सो कार्यक्रममा मन्त्रालयका निमित्त सचिव, सहसचिव, गोरखापत्र दैनिकका प्रधान सम्पादक शिवकुमार भट्टराई, सञ्चालक समितिका सदस्य राजुकुमार महत, संस्थानका विभागीय प्रमुख तथा कर्मचारीको सहभागिता थियो । वाम्बुले राई भाषा पृष्ठका संयोजक गणेश वाम्बुले राई र सहसंयोजक श्याम वाम्बुले राई हुनुहुन्छ ।