• ११ पुस २०८१, बिहिबार

लुम्बिनी कप महिला फुटबलमा आठ टिम

blog

कमल खत्री

धम्बोझी, पुस १० गते । लुम्बिनी कप महिला फुटबल आगामी फागुन १९ गतेदेखि नेपालगन्जमा हुने भएको छ ।

अन्तरालको आयोजना र बाँके जिल्ला फुटबल सङ्घको सहकार्यमा नेपालगन्जस्थित महेन्द्र रङ्गशालामा हुने उक्त फुटबल प्रतियोगितामा नेपाल र भारतका आठ टिम सहभागी हुनेछन् । 

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजकलाई सोमबार पत्रमार्फत लुम्बिनी कप महिला फुटबल आयोजनाका लागि फागुन १९ देखि २९ गतेको समय दिएको बाँके जिल्ला फुटबल सङ्घका अध्यक्ष एवम् एन्फा केन्द्रिय सदस्य भोजराज शाहीले जानकारी दिनुभयो । 

यस प्रतियोगिताले बाँके र यस क्षेत्रमै नयाँ प्रतिभाहरू आउने विश्वास व्यक्त गर्दै अध्यक्ष शाहीले बाँके जिल्ला फुटबल सङ्घ लुम्बिनी कपलाई सफल पार्न जुटिसकेको बताउनु भयो । 

उहाँले भन्नु भयो,‘‘पश्चिम नेपालमा महिला फुटबलको लोकप्रियता बढाउन यो प्रतियोगिता महत्त्वपूर्ण हुनेछ । यसको व्यवस्थापन देखि लिएर सफल आयोजनामा हामी जुटिसकेका छौँ । प्रतियोगितामा नयाँ खेलाडीले खेल्ने अवसर पाउनेछन् । यसले फुटबलको विकासमा सहयोग गर्नेछ ।’’ 

आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले एन्फालाई विशेष धन्यवाद दिंदै बाँके जिल्ला फुटबल सङ्घ र अन्तरालको संयुक्त प्रयासबाट लुम्बिनी कपले साकार रूप लिन लागेको बताउनुभयो ।  

शाहले लुम्बिनी कप महिला फुटबल पश्चिम नेपालकै गर्व गर्न लायक इभेन्ट बन्ने निश्चित भएको बताउनुभयो । उहाँले भन्नुभयो,‘‘फुटबल मात्रै होइन । पश्चिम नेपालकै पर्यटन विकासमा समेत यो कोशेढुङ्गा बन्नेछ ।’’ लुम्बिनी कपको लोगो यसअघि नै सार्वजनिक भएको छ ।