• ८ पुस २०८१, सोमबार

आहार खुवाएर गिद्धको स्याहार गर्दै नेपाली

blog

गिद्धको स्याहारमा लाग्नुभएका यामबहादुर नेपाली । तस्विरः बोमलाल गिरी

बोमलाल गिरी

नवलपुर, पुस ८ गते । कुनै समय थियो गिद्धलाई छोयो भने पाप लाग्छ, गिद्धले दिशा गर्‍यो भने नराम्रो हुन्छ । यस्तै, पुरातन सोंच व्याप्त रहेको बेला यामबहादुर नेपाली गिद्धको संरक्षण मात्र होइन, गिद्धलाई आहार खुवाउने काममै जुट्नुभयो । 

सुरुमा उहाँप्रति धेरैको दृष्टिकोण नकारात्मक थियो । तर विस्तारै मान्छेको सोंच बदलियो । अहिले सबैले सम्मान गर्छन् । कावासोती –७ का यामबहादुर नेपाली उमेरले ४१ वर्ष पार गर्नुभयो । बिहानै उठेर मानिसहरु आफ्नो घरधन्दामा लागेजस्तै उहाँको दैनिकी सुरु हुन्छ, घर नजिकै रहेको जटायु रेष्टुरेन्टबाट । 

उहाँ बिहान जुरुक्क उठेर मोटरसाइकल सुचारु गरी घरदेखि केही पर रहेको जटायु रेष्टुरेन्टमा पुग्नुहुन्छ, जहाँबाट सुरु हुन्छ उहाँको दैनिकी । याम बहादुरले यो रेष्टुरेन्टमा काम सुरु गरेको १९ वर्षभयो । यहाँ जटायु रेष्टुरेन्टको स्थापना भएसँगै उहाँ यो रेष्टुरेन्टमा जोडिनु भएको हो । 

जटायुको स्थापना हुँदा गिद्धलाई आहारा खुवाउने र हेरविचार गर्ने कामका लागि जनशक्ति व्यवस्थापन गर्न रेष्टुरेन्ट व्यवस्थापन समितिलाई सकस परेको थियो । गिद्धप्रति समाजको नजर पुरातन थियो । गिद्धलाई खाना खुवाउने काम गर्न कोही तयार नभएको बेला संरक्षणमा चासो राख्ने यामबहादुरले यो कामलाई सहजै स्विकार गर्नुभयो । अहिले यामबहादुर “गिद्धका सेफ” भनेर संरक्षणकर्मी माझ परिचित हुनुहुन्छ । 

आफ्नो बाँकी जीवन समेत गिद्धको संरक्षण र हेरचाहमा लगाउने बताएका यामबहादुरका बारेमा जटायु रेष्टुरेन्टका अध्यक्ष डिबी चौधरीले भन्नुभयो, “स्थापनाकालमा गिद्धको विषयमा समाज सचेत थिएन । त्यो समयमा काम गर्ने मान्छे पाउन गाह्रो थियो, उहाँले सहजै स्वीकार गरेर यो काम सुरु गर्नुभयो । यो कुराले समाजका अन्य मानिसलाई समेत प्रेरणा दिएको छ ।”

बिहान ८ बजे नै जटायु रेष्टुरेन्टमा पुग्ने यामबहादुरले भन्नुभयो, ‘‘कतै गिद्ध बिरामी भएर बसेका छन् कि भनेर हेर्छु, त्यसपछि उनीहरुको आहारा व्यवस्थापनमा लाग्छु । अनि त्यहीँभित्र रहेको गौशालामा राखिएका गाईवस्तुलाई फुकाएर चर्नका लागि छोडिदिन्छु ।’’ 

गिद्धको आहारका लागि जिल्लामा रहेका विभिन्न कृषि फर्ममा प्राकृतिक हिसावले मरेका वा मर्न लागेका गाईगोरु भएका सूचना पाएमा यामबहादुर आफै त्यहाँसम्म पुग्नुहुन्छ । ती गाईवस्तुलाई प्रयोग गरिएका औषधी र उपचार पद्धतिको विषयमा प्राविधिकसँग सल्लाह गरेपछि गिद्धलाई खुवाउन मिल्ने भए तिनलाई जटायु रेष्टुरेण्टसम्म ल्याउने काम उहाँकै हो । 

ती गाईवस्तुमा प्रयोग गरिएका औषधी गिद्धलाई असर नगर्ने खालको हुनुपर्छ । १९ वर्षदेखि एउटै काम गरिरहँदा यो विषयमा यामबहादुर आफै पनि जानकार भइसक्नु भएको छ । त्यो बाहेक कतै गिद्ध बिरामी भएको सूचना पाए उहाँ जटायु रेष्टुरेन्टको प्राविधिक टोलीसँगै घटनास्थलमा पुग्नुहुन्छ । बिरामी गिद्धलाई जटायुसम्म ल्याउने र प्राविधिकसँग मिलेर उपचारमा जुट्ने यामबहादुरको काम हो ।

लामो समय एउटै काम गरेका यामबहादुरलाई मानिसले मात्र होइन, यहाँका रैथाने गिद्धले समेत टाढैबाट चिन्छन् । ‘‘सुरुमा कसरी काम गर्ने होला भन्ने चिन्ता थियो, काम गर्दैजाँदा गिद्धहरू नजिकिँदै आए, साथी बन्न थाले, गिद्धको आहार बन्ने अवस्थामा पुगेका गाईलेसमेत चिन्न थाले, घर गएको आएको समेत ख्याल गर्छन्, बाइक लिएर आहार सेन्टरमा जाँदा सबै गिद्धपछि लाग्छन्’’ यामबहादुरले भन्नुभयो, ‘‘अहिले मलाई धेरैले गिद्धको ‘सेफ’ भनेर चिन्नुहुन्छ, जसले गर्वको अनुभूति दिलाउँछ ।’’

मान्छे र जनावर वा पंक्षीको अनौठो माया हुने गरेको अनुभव उहाँसँग छ । ‘‘मानिस स्वभावैले स्वार्थी हुँदो रहेछ, पंक्षीको निस्वार्थ माया हुँदो रहेछ’’ उहाँले भन्नुभयो । उहाँ रेष्टुरेन्टको गेटबाट भित्र पसेपछि गिद्धहरू उडेर उहाँको आसपास आउने गर्दछन् । त्यतिमात्र होइन, यहाँको गौशालामा पालिएका गाईवस्तु समेत उहाँ आएको छनक पाएपछि पच्छ्याउन थाल्छन् । 

सँगैका अरु साथीहरु वैदेशिक रोजगार तथा अन्य पेशामा लागेको भए पनि यामबहादुर भने गिद्धको हेरचाहमा नै खुसी हुनुहुन्छ । सुरुमा गिद्धलाई खाना खुवाउने र हेरचाह गर्ने मान्छे भनेर समाजमा केही समय अन्य मानिसहरुको उहाँलाई हेर्ने र सोच्ने दृष्टिकोण नकारात्मक थियो । बिस्तारै मानिसहरुले सोच बदलिएको उहाँको अनुभव छ । 

‘‘पहिले गिद्धलाई अछुत मान्नेहरूले अहिले गिद्ध राम्रो रहेछ भन्न थालेका छन्’’ यामबहादुरले भन्नुभयो, ‘‘सबैले माया गरेर होला अहिले गिद्धको संख्या पनि बढेको छ ।’’ कतैबाट एउटा गाडी सहयोग पाए हुन्थ्यो भन्ने यामबहादुरको एउटा विशेष अनुरोध छ । ‘‘गाडी नहुँदा विभिन्न स्थानबाट गिद्धको आहार ल्याउन समस्या भएको छ, कोही दाता भए एउटा गाडी उपलब्ध भएमा दाउन्नेदेखि गैँडाकोटसम्म जहाँ मरेको भए पनि गाईगोरु ल्याउन सकिन्थ्यो’’ उहाँले भन्नुभयो । 

दुई दशकदेखि यहाँ काम गर्दा उहाँ अहिले गिद्धको अवलोकन गर्न आउनेलाई गिद्धको आहार विहार र चालचलनबारे जानकारी दिने समेत गर्नुहुन्छ । सुरुका वर्षहरुमा जटायु रेष्टुरेण्टले नै आन्तरिक स्रोतबाट तलब खुवाउने गरेका उहाँ अहिले नेपाल पंक्षी संरक्षण संघको कर्मचारी हुनुभएको छ । उहाँलाई पंक्षी संरक्षण संघले तलब दिंदैआएको छ । 

विश्वभर गिद्धका २३ प्रजाति छन् । दक्षिण एसियामा ९ प्रजातिका गिद्ध छन् र ती सबै अर्थात नौ वटै प्रजाति नेपालमा पाइन्छन् । नेपालमा पाइने मध्ये डंगर, सानो खैरो, लामो ढुँडे र सुन गिद्ध अति संकटापन्न अवस्थामा छन् । यस्तै, सेतो गिद्ध संकटापन्न सूचीमा छ भने हिमाली, राज र हाडफोर गिद्ध संकटनजिक रहेको छ । 

नेपालमा पाइने सबै ९ प्रजातिका गिद्धहरू संकटकै अवस्थामा छन् । ९ मध्ये ८ प्रजातिका गिद्ध यहाँ देख्न सकिने नेपाल पंक्षी संरक्षण संघका संरक्षण अधिकृत देउबहादुर रानाले बताउनुभयो । 

यो रेष्टुरेन्ट सञ्चालन गर्दा सन् २००५ मा ७ प्रजातिका ७२ वटा मात्र गिद्ध थिए ।  सन् २०२३ मा यहाँ आठ प्रजातिका पाँचसय १७ वटा गिद्ध गणना भएका थिए । लामो ठुँडे गिद्ध, राज गिद्ध र खैरो गिद्ध जाडो मौसममा बसाइँ सरेर नेपाल आउँछन् र बच्चा कोरलेर जान्छन् । 

अरु ६ प्रजातिका गिद्ध भने यहीँका रैथाने हुन् । गिद्ध संरक्षणको क्षेत्रमा लामो समयदेखि काम गर्दैआएका संरक्षाकर्मी डिबी चौधरीका अनुसार नेपालमा अहिले सबै प्रजातिका गिद्धको कुल संख्या २० हजारको हाराहारीमा रहेको अनुमान छ ।

९० को दशक आसपास नेपालमा लाखौंको संख्यामा देखिने गिद्धको संख्या ह्वात्तै घटेपछि संरक्षणकर्मी चिन्तित बने । त्यसपछि समुदायस्तरबाट संरक्षण गर्न सन् २००६ मा पहिलो पटक जटायु रेस्टुरेन्ट नामक गिद्ध संरक्षण केन्द्र सुरु गरिएको थियो । यो रेस्टुरेन्टका कारण गिद्ध संरक्षणमा मद्दत पुग्ने देखिएपछि मुलुकका विभिन्न स्थानमा यस्तै केन्द्र सञ्चालनमा रहेका छन् । अहिले यो रेष्टुरेन्टका कारण नवलपुर गिद्ध पर्यटनको हव बनेको छ ।