अम्मान, जोर्डन, पुस ८ गते । जोर्डनका विदेशमन्त्री अयमान सफादीले सिरियाका नयाँ नेता अहमद अल-शरासँग भेटवार्ता गर्न सोमबार दमास्कस जाने कार्यक्रम रहेको अम्मानले बताएको छ ।
दक्षिणमा सिरियासँग सीमा जोडिएको जोर्डनले यसै महिनाको सुरुमा एक शिखर सम्मेलनको आयोजना गरेको थियो । सम्मेलनमा अरब, टर्कीए, ईयू र अमेरिकी कूटनीतिज्ञहरुले वर्षौंको गृहयुद्धपछि समावेशी र शान्तिपूर्ण सङ्क्रमणका लागि आह्वान गरेका थिए ।
गत डिसेम्बर ८ मा असदलाई सत्ताच्युत गर्ने आक्रमणको नेतृत्व गरेको इस्लामिक समूह हयात तहरीर अल-शाम (एचटीएस) का शराले हालैका दिनमा मध्यपूर्व र त्यसभन्दा बाहिरका विभिन्न देशका वरिष्ठ अधिकारीलाई भेट गरी आफ्नो आगामी नीतिका बिषयमा स्पष्ट पार्दै सहयोगका लागि अपिल गर्नुभएको छ ।
जोर्डनको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा साफादीले सोमबार नयाँ सिरियाली नेताका साथै अन्य सिरियाली अधिकारीसँग भेटवार्ता गर्ने बताइएको छ । असदको पतनपछि जोर्डनका वरिष्ठ अधिकारीको यो पहिलो सिरिया भ्रमण हो । सरकारका प्रवक्ता मोहम्मद मोमानीले आइतबार पत्रकारहरुसँग कुरा गर्दै जोर्डनले ‘सिरियाली जनताको इच्छाको पक्ष लिएको’ बताउनुभएको छ ।
मोमानीले सिरियामा सुरक्षा र स्थिरता बहाल भएको हेर्न चाहेको र आफ्नो भूभागको एकतालाई समर्थन गरेको बताउनुभयो । युद्धग्रस्त सिरियामा स्थिरता जोर्डनको हितमा रहेको र यसले आफ्नो सीमामा सुरक्षा सुनिश्चित गर्ने मोमानीले बताउनुभयो । सन् २०११ देखि युद्धबाट भागेर जोर्डनमा शरण लिएका केही सिरियाली नागरिक स्वदेश फर्कन थालेको जोर्डनका अधिकारीहरुले बताएका छन् ।
सिरियाको गृह मन्त्रालयले बिहीबार १३ लाख शरणार्थीमध्ये सात हजारभन्दा बढी सिरियाली नागरिक त्यहाँबाट बाहिरिएको जनाएको छ । संयुक्त राष्ट्रसङ्घका अनुसार जोर्डनमा छ लाख ८० हजार सिरियाली शरणार्थी दर्ता भएका छन् । रासस/एएफपी