राजकुमार भट्टराई
खोटाङ, पुस ८ गते । जिल्ला हुलाक कार्यालय दिक्तेलका कार्यालय प्रमुख कुलप्रसाद आचार्य र उहाँको छोरा प्रबिन आचार्यको भक्तपुरमा हत्या भएको छ । भक्तपुरको बालकोटमा हत्या भएको अवस्थामा बाबु–छोराको शव फेला परेको बताइएको छ ।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका घर भई बालकोट बस्दै आएका ५६ वर्षका कुलप्रसाद आचार्य र उहाँका २२ वर्षका छोरा प्रविन आचार्य हत्या भएर मृत फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
कुलप्रसाद आचार्य जिल्ला हुलाक कार्यालय दिक्तेलमा कार्यरत हुनुहुन्थ्यो । केही दिन अघि मात्र दिक्तेलबाट भक्तपुर छोराहरु भएको ठाउँमा गएको आचार्यका छिमेकी एवम् नेपाल पत्रकार महासँघ खोटाङका अध्यक्ष हरिबोल आचार्यले बताउनुभयो ।
बाहिरबाट चाबी लगाएको अवस्थामा कोठाभित्रै सोमबार बिहान उहाँहरुको शव फेला परेको हो । प्रहरीका अनुसार उहाँहरूको शरीरका विभिन्न ठाउँमा चोट रहेको छ । अहिले भक्तपुर प्रहरी परिसरको टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरिसकेको छ । यसैगरी, सँगै बस्दै आउनुभएका कुलप्रसादका जेठा छोरा मिलन आचार्य भने सम्पर्कविहीन हुनुहुन्छ । उहाँको खोजी भइरहेको प्रहरीले जनाएको छ ।