राममणि दाहाल
हेटौँडा, पुस ८ गते । हेटौँडा हुँदै तराईसँग जोड्ने गरी चुरे पर्वतमा निर्माण गरिएको १०७ वर्ष पुरानो सुरुङ मार्गको जीर्णोद्धार कार्य पूरा भएको छ ।
मर्मत, सम्भारको अभावमा पुरिएर अवरुद्ध बनेको सुरुङ मार्ग बागमती प्रदेश सरकारले जीर्णोद्धारसँगै हेटौँडा उपमहानगरपालिकालाई हस्तान्तरण गर्नुभएको हो । हेटौँडा उपमहानगरपालिकालाई आज सोमबार हस्तान्तरणसँगै लामो समयपछि सर्वसाधारणका लागि खुला गरिने भएको छ ।
चुरे पर्वत छेडेर एक शताब्दीभन्दा अगाडि निर्माण गरिएको उक्त सुरुङ मार्ग नियमित मर्मत सम्भारको अभावमा सुरुङ मार्गको बिच भागमा पुरिएर आरपार गर्न नसक्ने अवस्थामा रहेको थियो ।
बागमती प्रदेश सरकारको यातायात पूर्वाधार निर्देशनालय, हेटौँडामार्फत ऐतिहासिक महत्वको चुरियामाई सुरुङ मार्गको पुनर्निर्माणसँगै पर्यटकीय गन्तव्य बनाउने गरी जीर्णोद्धार गरिएको हो ।
चुरे पर्वत शृङ्खलामा कटान (बक्स कट) गरी कालोपत्रे सडक निर्माणसँगै उक्त सुरुङ मार्ग प्रयोगविहीन बनेको थियो ।
निर्देशनालयका प्रवक्ता इन्जिनियर चन्द्रदेव भट्टले सुरुङ मार्गको जीर्णोद्धारको सबै काम पूरा भएकोले उपमहानगरपालिकालाई हस्तान्तरण गर्न लागेको बताउनुभयो ।
उहाँले उपमहानगरपालिकाले सुरक्षा, संरक्षण र प्रयोग गर्ने गरी सोमबार हस्तान्तरण गरिने बताउँदै सुरुङ मार्गलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न सकिने बताउनुभयो ।
हेटौँडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले प्रदेश सरकारबाट सुरुङ मार्ग हस्तान्तरणपछि सुरक्षा र सञ्चालन गर्न उपमहानगरपालिकाले सुरुङ मार्ग सञ्चालन कार्यविधि बनाएको भन्दै सुरुङ मार्ग प्रवेशबापत पर्यटकसँग शुल्क लिने बताउनुभयो ।
सो सुरुङ मार्गको हाल २२५ मिटर मात्र बाँकी रहेको छ ।
सुरुङ मार्गको जीर्णोद्धार बापत निर्माण कम्पनीलाई तीन करोड ६२ लाख ८२ हजार ४१५ रुपियाँ भुक्तानी भएको प्रवक्ता भट्टले बताउनुभयो ।
मकवानपुर र बारा जिल्लाको सिमानामा रहेको चुरियामाई सुरुङ मार्ग भएर विगतमा जिप, लहरीलगायतका साना सवारी आवतजावत हुने गरेको थियो ।
नेपालको पहिलो सुरुङ मार्गको परिकल्पनाकार ब्रिगेडियर कर्णेल डिल्लीजङ्ग थापाको अगुवाइमा वि.सं. १९७४ सालमा निर्माण गरिएको चुरियामाई सुरुङ मार्ग निर्माण सम्पन्न गर्न दुई वर्ष लागेको थियो ।