गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस ८ गते । नेपालमा बाँसजन्य वनस्पतिका ७६ भन्दा बढी प्रजाति छन् । तीबाट एक हजार पाँच सय प्रकारका सामान उत्पादन हुने गरेको छ ।
छिमेकी मुलुक भारत र चीनले बाँसका सामान उत्पादन गरेर आन्तरिक बजारसँगै बाह्य बजारमा निर्यात गरिरहेका छन् । ग्रिन बाम्बो क्रिएसन प्रालिका प्रबन्ध निर्देशक प्रणव प्रधानले नेपालका उत्पादनको माग भने युरोपेली बजारमा बढ्दै गएकाले नेपालको बाँसका उत्पादनको ब्रान्ड बनाएर निर्यात गर्न सकिने सम्भावना रहेको बताउनुभयो ।
यसैबिच स्थानीय स्तरमा उत्पादन हुने बाँसको संरक्षण, बजारीकरण उपयोग गर्ने र खेती विस्तार गर्ने उद्देश्यसाथ नेपालमा पहिलो राष्ट्रिय बाँस सम्मेलन हुने भएको छ ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका, वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र, पर्यटन वन तथा वातावरण मन्त्रालय विराटनगर र ग्रिन बाम्बो क्रिएसन प्रालिको संयुक्त आयोजना आगामी फागुन १५, १६ र १७ गते खोटाङ जिल्लाको दिक्तेलमा सो सम्मेलन हुन लागेको हो ।
त्यसबारे जानकारी दिन अयोजित पत्रकार सम्मेलनमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका प्रमुख तीर्थराज भट्टराईले बाँसको खेतीलाई सुधार र विस्तार गर्दै अन्य खेती हुन नसक्ने जग्गामा बाँसको खेती विस्तार गर्न सकिने बताउनुभयो ।
स्थानीय स्तरमा उत्पादन हुने बाँसको उपभोग बढाएर राष्ट्रको आयआर्जनसँग जोड्न सम्मेलनले ठुलो योगदान पुग्ने अपेक्षा गरिएको उहाँको भनाइ छ । सो अवसरमा पूर्वमन्त्री गणेश साहले गरिबका लागि बाँस जीवन निर्वाह गर्ने माध्यम र धनीका सजावटका साधन बनाउने माध्यम बनेकाले यसको प्रयोग बढाउँदै जानुपर्ने बताउनुभयो ।
वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रका महानिर्देशक राजेन्द्र केसीले बाँसको वातावरणीय, आर्थिक, सामाजिक हिसाबले महìव रहेकाले यसको उपयोग बढाउँदै जानुपर्ने बताउनुभयो ।