भैरहवा समाचारदाता
भैरहवा, पुस ८ गते । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट मङ्सिर ३० देखि उडान रोकेको फ्लाई दुबईले पुनः उडान सुचारु गर्ने भएको छ । मौसमको कारण देखाउँदै दुबई–भैरहवा उडान रोकेको फ्लाई दुबईले पुस २९ देखि पुनः उडान सुरु गर्ने तयारी गरेको हो ।
फ्लाई दुबईले दुबई–भैरहवा–काठमाडौँ–दुबई दैनिक उडान गर्दै आएको थियो तर खराब मौसमका कारण देखाएर मङ्सिर ३० बाट उडान रोकेको थियो ।
फ्लाई दुबईको नेपालको जिएसए युनिभर्सल टुर्स एन्ड ट्राभल्सको बिक्री प्रमुख नवराज शाहीले अहिले पुस २९ देखि पुनः नियमित उडान गर्ने जानकारी दिनुभयो । दुबईबाट भैरहवा ओर्लने यात्रु राम्रै रहेको र दुबई जाने यात्रु पनि बढ्दै गएको शाहीले बताउनुभयो ।
मौसममा खराबी हुँदा यहाँको विमानस्थल खुलेपछि मात्र दुबईबाट जहाज उड्ने गर्दा अन्य नियमित उडानसमेत प्रभावित भएकाले पनि अहिले मौसमकै कारण केही समय उडान रोकिएको शाहीको तर्क छ ।
उहाँले भन्नुभयो, “मौसम खराब हुँदा काठमाडौँ डाइभर्ट गर्नुपर्ने, भैरहवाकै आकाशमा चक्कर लगाइराख्नुपर्ने बाध्यता भएको थियो, अब भने त्यो बाध्यता नहुन सक्छ ।”
आगामी माघको १० गतेपछि भू–उपग्रहमा आधारित आरएनपी एआर प्रविधिमार्फत उडान अवतरण हुने जानकारीमा आएको र यो प्रविधि सुरु भएपछि उडान र अवतरणमा सहज हुने शाहीले विश्वास व्यक्त गर्नुभयो । पछिल्लो समय हिउँदमा प्रतिकूल मौसमका कारण गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हुने उडान तथा अवतरण प्रभावित भइरहेको छ ।