• ७ पुस २०८१, आइतबार

पाटेबाघ मार्ने उद्योगमा नवलपुरबट एक जना पक्राउ

blog

अभियुक्त २० वर्षीय युवक अमृत न्यौपाने ।

बोमलाल गिरी 

नवलपुर, पुस ७ गते। पाटेबाघ मार्ने उद्योगमा चितवन राष्ट्रिय निकुञ्जले एक जनालाई पक्राउ गरेर आइतबार सार्वजनिक गरेको छ। निकुञ्ज कार्यालय कसरामा पत्रकार सम्मेलन गरी पाटेबाघ मार्ने उद्योगमा पक्राउ परेका २० वर्षीय युवकलाई सार्वजनिक गरिएको हो। 

पक्राउ पर्नेमा नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–१ का २० वर्षीय अमृत न्यौपाने रहेका निकुञ्जका संरक्षण अधिकृत एवं सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिनुभयो। 

विनयी त्रिवेणी गाउँपालिका–१ मा पर्ने तीनचुली सामुदायिक वनको लक्ष्मीडाँडामा वन्यजन्तुको सिकार गर्न प्रयोग भएको सवारीसाधनको ब्रेकको तार एक थान, केवल लाइनमा प्रयोग हुने तार एक थान र रौं अल्झेको जस्तो देखिने तार एक थान फेला परेसँगै न्यौपानेलाई पक्राउ गरिएको मगरले बताउनुभयो। 

गत कार्तिक २ गते सोही स्थानका जितबहादुर थिङ बाघको आक्रमणमा परेर मृत्यु भएको थियो। थिङ मृत फेला परेको स्थानमा अनुसन्धान गर्दै जाँदा पासोका लागि प्रयोग भएका सामान सोही दिन बरामद गरिएको मगरले बताउनुभयो। 

अनुसन्धानकै आधारमा निकुञ्ज र नेपाली सेनाको टोलिले न्यौपानेलाई पक्राउ गरेर थप अनुसन्धान अगाडी बढाएको थियो। न्यौपानेबाट बरामद मोबाईलमा समेत पासोमा परेको बाघको तस्बिर फेला परेको र उक्त तस्बिर न्यौपानेले नै खिचेको नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालाबाट पुष्टि भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो। 

बाघलाई पासो थापिएको स्थानबाट बरामद तारमा अल्झिएको रौँ पाटे बाघको नै रहेको र पक्राउ परेका न्यौपानेले पासोमा बाघ परे पछि आफुले रुखमा चढेर बाघको तस्बिर खिचेको बयानमा स्विकार गरेका मगरले जानकारी दिनुभयो। उक्त रौँलाई नेपाल प्रहरीको विधिविज्ञान प्रयोगशालामा परिक्षणका लागि पठाईएकोमा डिएन नतिजा अनुसार बाघकै भएको पुष्टि भएको हो। 

पक्राउ परेका न्यौपानेलाई बाघ मार्ने उद्योगमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को पाँचौँ संशोधनको दफा २६ उपदफा (५घ) बमोजिम कसुर गरेकाले सोही ऐनको दफा २६ को उपदफा १ बमोजिम सजाय माग दाबीसहित मुद्दा दर्ता गरिएको छ। यो मुद्दामा १० लाख रुपियाँ जरिवाना वा पाँचदेखि १० वर्ष कैद वा दुबै हुने व्यवस्था छ।