• ७ पुस २०८१, आइतबार

लहानमा बालश्रमिकको सङ्ख्या बढ्दो

blog

फाइल तस्बिर ।

जीवछ यादव

लहान, पुस ७ गते । लहानमा दलित विपन्न बालबालिकाहरु बालश्रमिक भएर काम गरिरहेको यत्रतत्र देखिएपनि यसलाई रोक्न कुनै पहल हुन नसकिरहेकोमा अधिकारकर्मीहरुले चिन्ता जनाएका छन्। 

मानव अधिकारकर्मी राजकुमार राउत भन्नुहुन्छ, "लहानको सडकमा कवाडी सङ्कलन गर्ने कार्य होस्, इँटा भाठाहरुमा काम गर्ने मजदुरको रुपमा होस् र होटेलहरुमा काम गर्ने बालमजदुरहरु दर्जनौ रहेको भएपनि यसतर्फ स्थानीय सरकारको ध्यान जान नसक्नु चिन्ताको विषय हो ।"

सन् २०३० सम्ममा नेपाललाई बालश्रम मुक्त घोषणा गर्ने सरकारले प्रतिवद्धता जनाए अनुसार मधेस प्रदेशको सप्तरी सुरुङगा नगरपालिका बाहेक कुनैपनि पालिकाहरु बलश्रममुक्त हुन नसक्नु चिन्ताको विषय भएको इन्सेकका मधेश प्रदेशका प्रतिनिधि देवराज पोखरेलले बताउनुभयो । उहाँ भन्नुहुन्छ, "१३६ वटा पालिका रहेका मधेश प्रदेशमा सुरङगा नगरपालिका मात्रै बालश्रममुक्त नगरपालिका घोषणा हुनुले यस विषयमा स्थानीय सरकार सञ्चारकर्मी र मानव अधिकारवादीहरुले सञ्जाल बनाएर काम गर्न आवश्यक छ ।"

लहानको मुख्य चोकमा रहेको ठूला होटेलहरु, धेरै जम्घट हुने सार्वजनिक ठाउँमा रहेको चिया नास्ता पसलहरु, घरेलु कामदारको रुपमा विद्यालयमा पढ्ने उमेर समुहका बालबालिकाहरु बालश्रम गरिरहेको संख्यो दर्जनौ देखिएपनि यसको लागि कुनै पहल नहुनु चिन्ताको विषय भएको युवा सञ्चारकर्मी बिजय कुमार यादवले बताउनुभयो । उहाँको अन्ुसार लहान नगरपालिकाकाका १,२,३,४,५,६,७,८,९ र १० नम्बरका दलित विपन्न बालबालिकाहरु विद्यालयको समयमा समेत बालश्रम गरेर आफना आमाबुबालाई दिनको दुई सयदेखि चारसम्म दिनहुँ कमाएर दिने गरिरहेका छन् । सबैभन्दा बढी बालश्रमिकका रुपमा लहान १ र २ नम्बर वडाका मुसहर समुदायहरु छन् । 

चिसो मौसममा लहानको मुख्य चोकमा दस वर्षिय बिरु सदाय र सपना सदाय कवाडीका सामानहरु पानीको बोतल, बियरका बोतलहरु फलामका टुक्राहरु बेरामा खाली खुट्टा व्यस्त सडक किनारामा सङ्कलन गरिरहेको अवस्थामा यी कवाडी सामानहरु सङ्कलन गरेर दिनको कति कमाइ भइरहेको सोध्दा ती बालबालिकाहरु बताउँछन्, ‘दिनको चार सय सम्म कमाइ हुन्छ । लहान–१ स्थित नाम समेत बताउन नसक्ने विद्यालयमा कहिलेकाहि मात्रै विद्यालय जाने गरेको छौं । दिनहु कमाएको रकम आमाबुबालाई दिएपछि चावल दाल खरिद गरेर ल्याउने गर्छन् । 

बालश्रम रोक्नको लागि लहान नगरपालिकाको ध्यान केन्द्रित भएको लहान नगरपालिका न्यायिक समितिका सदस्य रामकुमारी दासले भन्दै यसको लागि वृहत छलफल गरेर लहान नगरपालिकालाई बालश्रममुक्त बनाउन सरकारी तथा गैर सरकारी सङघ संस्थाहरुसँग समन्वय गर्ने बताउनुभयो ।