• ७ पुस २०८१, आइतबार

सुरजलाई मेयर कप साइकल दौड उपाधि

blog

उपाधि विजेता खेलाडी । तस्बिर : गोरखापत्र

कमल खत्री

धम्बोझी, पुस ७ गते । नेपालगन्जमा आयोजना गरिएको सातौँ मेयर कप राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि सुरज रानामगरले जित्नु भएको छ । 

३६ किलोमिटरको एमटीबी पुरुष खुल्ला साइकल दौड प्रतियोगितामा एपीएफ क्लबमा आवद्ध राष्ट्रिय खेलाडी रानामगरले एपीएफकै अच्यूतकृष्ण खरेललाई पछि पार्दै उपाधिसहित ५० हजार रुपियाँ पुरस्कार पाउनुभयो । दोस्रो हुनुभएका खरेलले २५ हजार र तेस्रो बन्न सफल जंगु थारुले १५ हजार रुपियाँ पुरस्कार पाउनुभयो । 

२५ किलोमिटरको एमटीबी मास्टरमा हर्कबहादुर लामा प्रथम, बाँकेका देव बोहरा दोस्रो र दीपक मल्ल तेस्रो हुनुभयो । उहाँहरुले क्रमशः २० हजार, १५ हजार र १० हजार रुपियाँ पुरस्कार पाउनुभयो । 

१६ किलोमिटरको एमटीबी स्कूल लेभलमा डेल्सन बोहरा पहिलो, अनमोल गुप्ता दोस्रो रन्जित चौहान तेस्रो हुनुभयो । २२ किलोमिटरको साधारण साइकल पुरुषमा विनोद यादव पहिलो,  लिखनप्रसाद चौधरी दोस्रो र जगतराम यादवतेस्रो हुनुभयो । 

१६ किलोमिटरको साधारण साइकल महिलामा रुपा थारु विजयी हुनुभयो । यस्तै समिता थारु र मिनाकुमारी थारु तेस्रो हुनुभयो । यी तीनवटै विधाका विजेता, उपविजेता र तेस्रो हुनेलाई क्रमश ः१० हजार, सात हजार र पाँच हजार रुपियाँ पुरस्कार प्रदान गरियो । 

नेपालगन्ज साइक्लिङ क्लबले आयोजना गरेको प्रतियोगिताको विजेता खेलाडीहरुलाई नेपालगन्ज उपमहानगरपालिका वडा नं. १२ का अध्यक्ष तरुण बज्राचार्य, नेपाली सेनाका प्रमुख सेनानी दीपक गुरुङ राजनीतिकर्मी तेजविक्रम शाह, मिना डाँगी, आयोजक क्लबका अध्यक्ष प्रदीप सापकोटालगायतले पुरस्कार वितरण गर्नुभयो । 

यसअघि प्रतियोगिताको उद्घाटन नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले गर्नुभएको थियो ।