महेशकुमार दास
जलेश्वर, पुुस ६ गते । महोत्तरीको मनरासिस्वा नगरपालिका वडा नम्बर ४ साँढा टोलमा डकैतहरुको समूहले एक वृद्धको हत्या गरेको छ । शनिबार बिहान ४ बजेको समयमा फलामे रड र धारिलो हतियार लिएर घर प्रवेश गरेको एक समूहले सोही नगरपालिकाको साँढा टोल बस्ने ७० वर्षीय सुशिल झाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीको प्रवक्ता समेत रहनुभएका प्रहरी नायब उपरीक्षक सुन्तलालप्रसाद जैसवारले जानकारी दिनुभयो ।
पूर्व गाविस सचिव समेत रहेका झामाथि चोरहरुको समूहले फलामे डण्डीले अन्धाधुन्ध प्रहार गरेपछि घटनास्थलमै उहाँको मृत्यु भएको मृतकका श्रीमत उर्मिला देवी बताउनुभयो ।
मृतकको शरिर भनिर चाटको निलडाम देखिएको छ भने पेट काटिएको र घाटी थिचिएको अवस्था रहेको प्रहरीले जनाएको छ । घटनास्थलमा अनुसन्धानका लागि पुग्नुभएको प्रहरी नायब महानिरीक्षक लालमणि आर्चायले घटनाबारे अनुन्धान भई रहेको बताउनुभयो ।
‘‘हाम्रो प्राविधिक टिमले अनुसन्धान गर्दै छ,’’ प्रहरी नायब महानिरीक्षक आचार्यले भन्नुभयो, ‘‘घटनास्थलबाट प्रमाण र हुलिया लिएर अपराधिहरुको खोजि कार्य तीव्र बनाएका छौं ।’’
यो घटना चोरीको जस्तो देखिए पनि भित्रि कुरा अरुनै हुन सक्ने स्थानीयको भनाइ छ । छिमेकी मनोज झाका अनुसार यो घटनामा लेनदेनको विषय पनि जोडिएको हुनसक्छ । चार दिन अघि केहि व्यक्तिले लेनदेनको विषयलाई लिएर वृद्ध झालाई धम्की समेत दिएको छिमेकी झाको भनाइ छ ।
घटनाबकारे सुक्ष्म अनुसन्धान गर्नुपर्ने र अपाराधिलाई कानुनी कारवाही गर्नुपर्ने माग स्थानियको रहेको छ ।