त्यस्तै भयो कालु पाण्डे पार्क मेरा लागि ।
बिहान उठेदेखि राति नसुतुन्जेलसम्म कालु पाण्डे पार्कसँग आँखा जुधाएको छु मैले । कालु पाण्डेको समाधि स्थललाई साक्षी राखेर दिन बिताएको छु । दुःख र सुखको साक्षी भएर बर्बरिक जसरी कालु पाण्डे बसेको छ । १७ वर्षदेखि गुर्जुधारावासी भएकी म, कोरोना कालपछि बल्ल साइत जु¥यो पदयात्राका लागि कालु पाण्डे पार्क ।
वास्तवमा हिराको खानीमा झुपडी बनाएर बसेका मगन्ते हौँ हामी । हामीसँग के छ भन्ने कुरा हामीलाई थाहै छैन । आरामले घरको काम भ्याएर, घरकै तातो भात खाएर, घुमघाम गरेर राति आफ्नै न्यानो ओछ्यानमा लुटुक्क सुत्नलाई फर्कन सकिन्छ यो ऐतिहासिक ठाउँबाट ।
सरल, सुलभ र सुपथ गन्तव्य भएको यो रमणीय स्थललाई किन वास्ता गरिनछु भनेर आफैँदेखि निक्कै रिस पनि उठ्यो ।
बिहानको मौसम चिसोचिसो भए पनि आकाश खुला थियो । निलो आकाशमा बादलका सेता फूल ढकमक्क फुलेर हाम्रो स्वागतमा नाचिरहेका थिए । उपत्यकाको मौसम बढो लोभलाग्दो थियो ।
ऐतिहासिक नगरी बलम्बुको आँगन भएर हाम्रो यात्रा दहचोकतिर मोडियो । बलम्बु माविको आँगनबाट हेरिरहेको महालक्ष्मी मन्दिरलाई दाहिने पारेर नैकाप भन्ज्याङको दृश्यपान गर्दै थियौँ । अगाडिको इँटाभट्टाले चुरोट तान्दै हाँसेरहेको थियो ।
इंँटाभट्टाको धुवाँलाई पछाडि पार्दै अब हामी सिर्जनाचोक निक्लियौँ । वनकाली स्कुललाई केन्द्र बनाएर सोझै उकालोतिर लम्किँदै गयौँ । अलिमाथि पुगेपछि सल्लाका रुखहरूले सुशोभित हरियो जङ्गल सुसाइरहेको थियो । सहज मार्गले हामीलाई लोभ्याउन सकेन बरु भिरालो र ठाडो उकालो भएको पदमार्गले हामीलाई आकर्षित ग¥यो ।
अब हामी जङ्गलभित्र पस्यौँ । सल्लाको पात झरेर बाटोभरि फिँजारिएका थिए । मेरो अनुहार चिरपरिचित लागे छ कि के हो सल्लाको रुखहरू त मलाई हेरेर झनक्क रिसाए ।
“२०६३ सालदेखि गुर्जुधारा आएर बसेको मान्छे बल्ल यहाँ आउन साइत जु¥यो ।” कानैमा आएर एउटा रुखके चिच्याएको भान भयो । साँच्चै सल्लाका रुख रिसाएका रहेछन् । सल्लाका पातमा गोडा चिप्लिएर सुलुलु ओरालो झर्दा पो थाहा पाएँ । पानी पर्दा मात्र बाटोचिप्लो हुन्छ भन्ने विज्ञान गलत साबित भयो । सल्लाको पात त हिलोभन्दा पनि डरलाग्दो हुने रहेछ । अनि गोडा दह्रो पार्दै औँला दबाएर पातहरूलाई कुल्चिँदै उकालो चढ्न थाल्यौँ ।
उकालोको माथि देउराली रहेछ । थकाई मार्दै रहेछन् स्थानीय जोडी । कुराकानी भयो गिरी थर रहेछ प्रायः उहाँहरू यो बाटो हिँडिरहनु हुँदोरहेछ ।
हामीलाई उकालो चड्दा ठसठसी भइरहेको थियो । मुख र कानले कोकाकोलाको बोतलबाट हावा खुस्के जसरी फुसुसुस्स सास छोड्दै थियो ।
अनि झोलाबाट फेन्टाको बोटल झिक्दै त्यसको पनि सास फुस्सा पा¥यौँ । फेन्टा त जीवनजल पो भयो । चिनी बार्ने भीष्म प्रतिज्ञा उकालोमा तोडियो ।
करिब एक घण्टापछि कुहिरेडाँडा पुग्यौँ । धन्न कुहिरो फाटेको थियो । डाँडामा पुगेपछि काठमाडौँ उपत्यका अवलोकित भयो । पल्लो डाँडामा ह्वाइट गुम्बा झलल्ल देखियो । स्वयम्भूको आँखासँग आँखा जुध्यो । हामी भाग्यमानी रहेछौँ मौसम निकै सफा थियो ।
खुलेको आकाशमा सेता बादलहरूले विभिन्न रूप धारण गरेर लुकामारी खेल्दै आफैँ चित्र कोर्दै आफैँ मेट्दै थिए । मैले पनि कल्पनाका अनगन्ती कथा र कहानी कल्पिएँ । काठमाडौँ उपत्यकालाई समग्रमा समेट्दै गुम्बातिर लम्कियौँ ।
पदयात्राभरि हाम्रा पाइताला मात्र घिसारिएका थिएनन् । मन, मस्तिष्क, तर्क, वितर्क सबै जागृत भएर सँगै हिँडिरहेका थिए । बाटोभरि कहिले सुन्तलाको पोको हलुको हुन्थ्यो कहिले कोक र फेन्टाको बोतल खाली । आँखा मात्र चञ्चल थिएनन् दाँत र जिब्रो पनि निकै चलायमन भइरहे ।
सुभांषा, श्रेस्ता र श्रेयमणी ब्लयाकपिङ्कको गीतमा झुमिरहेका थिए भने विमला म्याम र सुभाष सर कोरोना कहरपछि संसारले भोग्नुपर्ने आर्थिक, सामाजिक र राजनीतिक चुनौतीका विषयमा बहस गर्दै थिए भने म खोइ के खोज्दै हिँडेको थिएँ, मलाई नै थाहा छैन । दुधमा घिउ बिलाए झैँ म पनि सायद यहाँको प्रकृतिको सौन्दर्यमा बिलाएको थिएँ ।
गुम्बाको प्रवेश द्वारमा पुग्यौँ, द्वार बन्द थियो । गुम्बाभित्र छरिएको अपार शान्तिले मेरो हृदयको शान्तिलाई लठ्याएर तान्दै थियो । आँखा द्वारमा छोडेर मन मात्र भित्र दगु¥यो । शरीर र मन एक ठाउँमा नभएपछि यात्रा निरस त हुने नै भयो अनि कुनै दिन पुनः आउने वाचा गर्दै स्विजरल्यान्ड पार्कतिर हिँड्यौँ ।
भुटेको चना चरमचरम गर्दै दाँतले बजाएका थिए । अर्काेतिर पड्याक पड्याक गर्दै जुत्ताहरू चकमन्नतामा च्याँठिँदै थिए । मोटर गुड्ने बाटो फराकिलो भए पनि मोटरसाइकल बेधडक कुदेर आँखाभरि धुलो फ्याल्यो ।
हामी चन्द्रागिरि डाँडाको हाराहारीमा थियौँ । उचाइबाट तल हेर्दा तलका संरचना सबै एकसमान देखिएका थिए । अग्लो, होचो कतै देखिएन । सानो ठुलोको अस्तित्व नामेट थियो । मान्छे महलमा होस् या झुपडीमा जहाँ भए पनि अदृश्य भयो ।
मैले हाम्रो घर पहिल्याउन खोजेँ, अहँ मेलोमेसो केही भएन, सबै घरहरू समान थिए । गुर्जुधारामा घर खोजेँ तर गुर्जुधारा मात्र ठम्याउन सकेँ । निल आर्मस्ट्रङ्गले चन्द्रमाबाट अमेरिका नदेखेर मात्र पृथ्वी देखे जस्तो । कीर्तिपुर, पाँगा, मत्स्यगाउँ, मातातीर्थ, गुर्जुधारा, चेकपोस्ट, बलम्बु, नैकाप, दहचोक, थानकोट, बाँडभन्जयाङ सबै आरामले शान्तसँग मुस्कुराइरहेका । जात, वर्ण, लिङ्ग, समूह र समुदायभन्दा माथि मात्र भूगोल देखियो । माथिबाट हेर्दा हाम्रो बस्ती शान्त थियो । अशान्ति र कोलाहल त मान्छेका कारणले पो रहेछ । मान्छेको बस्तीमा मान्छेलाई हेर्दा, बुझ्दा र सुन्दा कति विविधता छ । मानव बस्ती छोडेर जति जति उकालो चड्यो, उतिउति शान्त थियो प्रकृति । ओहो ! स्वंयम्भूका आँखाले हेर्नू भनेको सायद यही रहेछ । किन मान्छे उचाइमा पुगेर हेर्न सक्दैन आफैँले आफैँलाई ? जति जति उचाइमा पुगेर खण्ड खण्डलाई हेर्न खोजिन्छ तब सबै अखण्ड मात्र देखिन्छ । के उचाइ भूगोलको मात्र हुन्छ ? उचाइको गणितीय हिसाब मान्छेको विवेकको मापन गर्न किन प्रयोग हुँदैन ? सोच्दै स्विजरल्यान्ड पार्कको छेउमा थ्याच्च बसेको थिएँ । हेर्दाहेर्दै उपत्यकालाई कुहिरोले डम्म ढाक्यो हरायो तिनै जिल्ला । मञ्जुश्रीले आफ्नो खड्गले काट्नुअघिको जलमग्न उपत्यका गोचर भयो । चोभारको गल्छीबाट मञ्जुश्रीले पानी नकाटेको भए उपत्यकामा आज भ्यागुताहरूको मात्र वासस्थान हुन्थ्यो होला ? उपत्यकावासी कहाँ बस्थे होलान् ? के के आउँछ आउँछ यो मस्तिष्कमा पनि ।
थरीथरीका मनुवाहरू रमाइलो गर्न आएका रहेछन् पार्कमा । कतै पुलाउ र तरकारी पाक्दै थियो, कतै काउली काटिँदै थियो । कतै बोतल खोलिँदै थिए । आँखै अगाडि सुकुल भोज पनि चल्दै थियो । टिम्मुर हालेको टमाटरको अचार नाकैमा आएर मगमगायो जिब्रोले छररर पानी पनि छोड्यो ।
हाम्रो झोलामा किनेका खानेकुराहरू मात्र थिए । त्यो पनि गुलियो चिजबिज । धन्न नानीहरूले चाउचाउ बोकेका रहेछन् र चाउचाउ साँधेर खाने सल्लाह भयो । हामी मुख आँ गरेर पलेँटी कसेर बसिरह्यौँ । श्रेस्ता र सुभांषाले मिठो पारेर चाउचाउको चट्पटे बनाएपछि मात्र जिब्रो तह लाग्यो ।
आधा घण्टा हिँडेपछि हामी कालु पाण्डेको समाधिस्थल आइपुग्यौँ । मौसम सफा भएका कारण एकातिर धादिङ जिल्लाका सुन्दर बस्तीहरू लमतन्न निदाइरहेका देखिए । भीमढुङ्गाको दृश्य पनि धुमिल देखियो ।
कीर्तिपुरको दोस्रो युद्धमा कालु पाण्डेले वीरगति प्राप्त गरेका थिए । कालु पाण्डेको इच्छाबमोजिम उनको दिवङ्गत शरीरलाई गोरखा देखिने ठाउँमा गाडिदिनू भन्ने इच्छा अनुसार कालु पाण्डेको समाधिस्थलको इतिहास छ । हिजोआज कालु पाण्डेको समाधिस्थलमा उनको प्रतिमा निर्माण गरिएको छ । पाण्डेको माटोप्रतिको प्रेमलाई सम्झेर निकैबेर भाबुक भएँ र हृदयबाट सहिदलाई सलाम गरेँ । नजिकै भ्युटावर भर्खरै बनेको देखेर रिस पनि उठ्यो । अटल, अविचलित र अविस्मरणीय प्राकृति भ्युटावरको छातीमा पैसाको खोलो बगाएर किन बनाएका होलान् यो मानव निर्मित अर्काे भ्युटावर ।
यहाँबाट गोर्खासम्म देखिन्छ भनेरै कालु पाण्डेको समाधिस्थल निर्माण गरिएको इतिहास सर्वविदितै छ अनि किन ऐतिहासिक डाँडाको निधारमा आएर भ्युटावर बनाएको होला ?
सायद ठुलै रहस्य होला भ्युटावरको तर त्यो रहस्य मेरो मस्तिष्कले ठम्याउन सकेन । किन किन मलाई भ्युटावर चढ्न मन लागेन अनि मनकामना मन्दिरतिर लागेँ । ऐतिहासिक हिसाबले हेर्ने हो भने यो क्षेत्रलाई गढीको रूपमा पृथ्वीनारायण शाहले प्रयोग गरेका थिए ।
पृथ्वीनारायण शाहलाई झट्ट सम्झिन पुगेँ । साँच्चै मनोकामना पूर्ण हुने मन्दिर निर्माण गर्न लगाएका रहेछन् । मैले पनि आँखा बन्द गरेर मनोकामना पूर्ण हुने वर मागे । आँखा खोल्दा झलमल्ल उपत्यका मुस्कुरायो । प्रदूषणको वायुले धुकु धुकु श्वास फेरिरहेको आजको काठमाडौँ त यहाँबाट हेर्दा भुतुक्कै पार्ने खालको छ भने त्यो बेला स्वस्थ्य र शान्त उपत्यका कस्तो देखिन्थ्यो होला ?
मनकामना मन्दिरबाट सिँढीको बाटो हुँदै हामी इन्द्रदहको दर्शन गर्न गयौँ । जातीय विविधता रहेको इन्द्रदह क्षेत्रमा सांस्कृतिक विविधता पनि बेजोडको रहेछ । पिकनिक खान आउने समूहहरू इन्द्रदहको वरिपरि पनि नाचिरहेका थिए । इन्द्रले नुहाएको दह भएर इन्द्रदह भएको रे ।
नागको मूर्ति दहको बिचमा रहेछ । सायद नागले रक्षा गरेर बसेको होला दहलाई । पुजारीको हातबाट टीका लगाउँदै दह पुराण सुन्न पाएँ ।
पुराण अनुसार सत्य युगमा भगवान इन्द्रले गौतम ऋषिकी पत्नी अहिल्यासँग झुक्याएर नाजायज सम्बन्ध राखेका थिए । गौतम ऋषिले इन्द्रको जाल थाहा पाएर इन्द्र र अहिल्या दुवैलाई श्राप दिए । इन्द्र पाप मोचन गर्न यहाँ आए अनि लामो समयपछि श्रापमुक्त भएर दिव्य शक्तिले पोखरी सिर्जना गरेर त्यही पोखरीमा नुहाएर स्वर्ग प्रस्थान गरेका थिए रे भन्ने सुन्ने बित्तिकै मेरो कन्पारो तात्यो । निर्दाेष अहिल्या चाहिँ पत्थर भएर बस्नुप¥यो । इन्द्र त पर्यटक भएर यस्तो सुन्दर, शान्त ठाउँमा आएर पो रमाइलो गरेर बसे छन् ।
मेरो दिमाग फेरि घुम्यो इन्द्र जस्ता छलीले निर्माण गरेका यस्ता असङ्ख्य इन्द्रदहहरू यो धरामा भएर त पापीहरू निर्धक्कसँग पटक पटक पाप गर्दै पाप मुक्त भएर हिँडिरहेका त होइनन् ? मेरो मनमा चस्का पस्यो । मनकामना देवीतिर फर्किएर तुरुन्तै वर मागेँ । “हे देवी जानी जानी पाप गरेर पाप पखाल्दै चोखो र पवित्र पार्न सक्ने यस्ता शक्तिशाली दहहरूको जम्मै पानी सुकाइदेऊ र पापीहरूलाई उचित दण्ड सजाय देऊ ।” मेरो कुरा सुनेर पण्डित बाजेले हाँस्दै अरू पनि पौराणिक कथा सुनाए ।
इन्द्रदहमा भाद्र शुक्लपूर्णिमाका दिन विशेष मेला लाग्ने गर्छ । मान्छेहरूको घुइँचो बिहानदेखि रातिसम्म हुने गर्छ । सबैतिरका दृश्य क्यामरामा भन्दा बढी हृदयमा कैद गरेर हामी बाँडभन्ज्याङको ओरालोबाट झर्न थालौँ । ओरालो त चाँडै झरिएला भन्ने विश्वासलाई श्रेस्ता र सुभांषाले चौपट पारे । उनीहरू त हिँड्न नसकेर कव्रmक्क परे ।
अब परेन फसाद । न बोक्न सक्नु छ, न गाडी नै छ । धन्न झोलामा खाने कुरा थियो । बाटोमा आराम गराउँदै खाने कुरा खुवाउँदै सुस्तसुस्त लिएर बढो मुस्किले झन्डै दुई घण्टा लगाएर थानकोट निस्किन सफल भयौँ । थानकोटबाट राति ८ बजे गाडी चढेर गुर्जुधारा आयौँ ।
मधुपर्क