• ६ पुस २०८१, शनिबार

पहेँलपुर बारीले पर्यटक आकर्षित

blog

सिन्धुलीको भलुवाहीमा गरिएको तोरी खेती । तस्बिर : बाबुराम देवकोटा

सिन्धुली समाचारदाता

दुधौली (सिन्धुली), पुस ६ गते । दुधौली नगरपालिका–२, भलुवाहीका किसान गुणराज बरालको १० कट्ठा खेत यतिबेला तोरी फुलेर पहेँलपुर बनेको छ । नजिकैको मदन भण्डारी राजमार्गमा सवार जो कोही यात्रुका आँखा तानिने सौन्दर्यबाट आकर्षित भएर फोटो खिच्न रोकिने गरेका छन् । तोरीधनी किसान बरालले भन्नुभयो, “यतिखेर दुधौली नगरपालिका अन्तर्गतको कमलाखुँज क्षेत्रको खेतबारीमा तोरी फुलेर पहेँलपुर भएको छ । तोरी बारीमा फोटो खिच्ने र टिकटक बनाउनेको घुइँचो लाग्ने गरेको छ ।”

तोरी बारीमा भुनभुनाउने मौरी र भमराले झनै मन लोभ्याउने गरेको उहाँले सुनाउनुभयो । तोरी बारीले किसान बराललाई आम्दानी मात्र दिएको छैन, खेतबारीमा आउने आन्तरिक पर्यटक देख्दा मनलाई आनन्दित बनाउने गरेको छ । मदन भण्डारी राजमार्ग हुँदै जिल्ला सदरमुकाम सिन्धुलीमाढीतर्फ हिँड्नुभएका कमलामाई नगरपालिका–५ का पुरन मगरले भन्नुभयो, “सदरमुकामबाटै दुधौलीको डकाहामा भएको एक कार्यव्रmममा आएको थिएँ । फर्किंदा कमलाखुँजको फाँटमा देखिएको पहेँलपुर तोरी बारी छोड्न मन लागेन र पोज पोजको फोटो खिच्दै छु ।”

त्यसो त स्थानीय किसानका अनुसार जिल्लामै अन्नभण्डारका रूपमा रहेको कमलाखुँज क्षेत्रमा तेलहन बाली अन्तर्गत तोरी खेती राम्रो हुने गरेको छ । “कमलाखुँज क्षेत्र तोरी खेतीका लागि ख्याति कमाएको ठाउँ हो,” दुधौली नगरपालिका–१ का किसान उद्धव देवकोटा भन्नुहुन्छ, “तीन दशकअघिसम्म यस क्षेत्रबाट तोरी बाहिर निकासी हुन्थ्यो । २०५० सालमा कमला नदीमा आएको बाढीले यहाँको सयौँ बिघा जमिन बगाएपछि तोरी खेती खुम्चिएको छ । कमला नदीले बगाएर बाँकी रहेको खेतबारीमा किसानले तोरी खेती गरेका छन् । त्यसबाट उनीहरूको घरखर्च धानेको छ ।”

कमला नदीको कटानबाट बर्सेनि कमलाखुँज क्षेत्रमा तोरी खेती हुने मुख्य ठाउँ हत्पते, रानीवास, निपाने, हर्षाही, टाँडी, दुधौली, सिर्थौली र कमलामाई नगरपालिकाका–९, १०, १३ र १४ नम्बर वडाका किसान प्रभावित हुँदै आएका छन् । दुधौली नगरपालिका–६, हर्षाही निवासी किसान दुर्गाबहादुर घिसिङ कमला नदीमा आएको बाढीले आफ्नो सात कट्ठा खेत बगाएपछि तोरी खेती गर्ने जग्गा अभाव भएको बताउनुहुन्छ । कृषि विकास कार्यालय सिन्धुलीका अनुसार जिल्लामा यो वर्ष करिब पाँच हजार हेक्टरमा तोरी खेती लगाइएको छ । तोरी खेती जिल्लाको नौ वटै स्थानीय तहमा हुँदै आएको छ ।