सनातन धर्म मूलतः वैदिक धर्म हो, जसले वेदबाट आफ्नो अभिव्यक्ति पाएको छ । वेदलाई मोटामोटी दुई भागमा विभाजन गर्न सकिन्छ । पहिलो भाग कर्मकाण्डसँग सम्बन्धित छ भने दोस्रो भाग ज्ञानसँग । कर्मकाण्डको भाग अन्तर्गत संहिता र ब्राह्मण पर्छन् । यहाँ ‘ब्राह्मण’ भन्नाले जाति होइन, वेदहरूको एउटा खण्डलाई जनाइएको हो ।
संहितामा मन्त्रहरू समावेश गरिएका छन्, जुन देवीदेवतालाई प्रसन्न बनाउनका लागि समर्पित छन् । ब्राह्मणमा विधिको व्याख्या गरिएको छ, जस्तै देवीदेवतालाई कसरी प्रसन्न पार्ने, यज्ञ कसरी गर्ने, पूजा कसरी गर्ने, आदि । यी सबै कर्मकाण्डका कुरा हुन्, जुन कालातीत (समयभन्दा पर) हुँदैनन्, र समयसँगै परिवर्तन हुने गर्छन् । वेदको अर्को भागमा आरण्यक र उपनिषद् पर्छन् । यहाँ त्यो ज्ञानको चर्चा गरिएको छ, जुन समयसँग परिवर्तन हुँदैन । यो ज्ञान वैदिक धर्मको मूल हो, जुन विशेष गरी उपनिषद्मा पाइन्छ ।
सनातन धर्म धेरै सिधा सरल, निर्विवाद छ । हरेक मनुष्य बेचैनीमा छ र त्यसलाई हटाउनु पर्छ जुन सनातन धर्मको काम हो । हरेक त्यो व्यक्ति जो आत्मज्ञानको जिज्ञासा राख्छ, र मुक्तिका लागि लालायित छ, केवल उसलाई सनातनी मान्नु पर्छ । आदिकालदेखि नै वास्तविक धर्म सङ्कटमा छ । त्यसैले हिन्दु को हो त ! त्यसबारे म आफूले अद्वैत वेदान्तबाट सिकेको आधारमा भन्न सकिन्छ सनातनी त्यो हो जसले आत्मा÷सत्यको असली अर्थ बुझेको छ । जसले पुनर्जन्म र प्रकृतिको असली अर्थ जान्छ । जो ॐकारको असली अर्थ जान्छ र मनुष्य जीवनको उद्देश्य के हो ? भनेर जानेको हुन्छ, त्यो हो सनातनी अर्थात् सही मानेमा हिन्दु ।
म अद्वैत वेदान्तको विद्यार्थी भएका कारण आदि गुरु शङ्काराचार्यले माण्डुक्य उपनिषद्मा अहम् (‘म’) का लागि तीन तलको सत्य हुन्छ जुन श्रीमद्भागवद गीता अध्याय २ मा श्रीकृष्णले स्पष्ट गर्नुभएको छ,
सबैभन्दा उच्च तल प्रामार्थिक हो, त्यो आत्माको तल हो । आत्माको न जन्म छ, न मृत्यु; आत्मा अविनाशी, अनन्त, अनादि र अचल छ । यो कुटस्थ हो, यसमा कुनै परिवर्तन हुँदैन ।
दोस्रो हो व्यावहारिक तल जो प्रकृतिको तल हो । श्रीकृष्ण अर्जुनलाई भन्नुहुन्छ, “आत्मालाई चिन्यौ भने शोकबाट मुक्त हुने छौँ, किनकि आत्माको न जन्म छ, न मृत्यु । आत्माभन्दा तलको तल प्रकृतिको तल हो, जसमा प्रत्येक क्षण जन्म र मृत्यु घटित हुन्छ ।” हरेक क्षण केही पैदा हुन्छ र त्यही क्षण त्यसको अन्त हुन्छ । कुनै पनि स्थायी छैन, त्यहाँ पनि शोकको कारण हुँदैन, पार्थ ! यही पुनर्जन्म हो । आत्मा कहिल्यै जन्मँदैन र प्रकृति निरन्तर जन्म लिन्छ । ॐकार यस भिन्नतालाई देखाउँछ कि हामी प्रकृति होइनौँ, हामी आत्मा हौँ ।
प्रकृतिलाई पार गरेर आत्मामा अवस्थित हुनु नै जीवनको लक्ष्य हो । प्रकृतिमा केही पनि गायब हुँदैन, यो नयाँ रूपमा उत्पन्न हुन्छ ।
अर्को तल हो अहङ्कारको जसलाई काल्पनिक तल पनि भनिन्छ । अर्जुन, तिमी अहङ्कारमा फसेका छौ सबैभन्दा ठुलो भ्रम यो होकि हाम्रो शरीरभित्र कुनै सञ्चालक छ । यसलाई अहिलेको दूषित मान्यता, रीतिरिवाज, परम्परा, अन्धविश्वास हो । माण्डुक्य उपनिषद्मा चेतनाको तीन अवस्था छन् – अ, ऊ, म । यी तीन वटालाई पार गरेर चौथो मौन अर्थात् तुरीय अवस्था, आत्मामा प्रवेश गर्नु नै ॐ हो ।
हिन्दु त्यो हो, जसले आत्मा र प्रकृतिको भिन्नता जान्छ, अर्थात् को अजन्मा हो र को पुनर्जन्मा हो । त्यसैले वेदान्तको काम हो दृष्टा र दृश्यलाई एक बनाउनु जस कारणले वेदान्तलाई अन्तिम दर्शन मानिएको छ । धर्म पागललाई समातेर “यो खाऊ, यो लगाऊ, यो बाटो हिँड” भन्ने होइन, अपितु धर्म पागलपनको उपचार हो । धर्मको काम माया (भ्रम) लाई ठिक गर्नु हो ।
माया ठिक भएपछि कर्ताको कर्म पनि सही हुने छ । कर्ताको भित्री ‘म’ जुन मूल माया हो, जसलाई दुर्गासप्तशती ग्रन्थमा देवीले अहम् अर्थ म, म पनलाई महामाया हुँ भनेर घोषणा गर्नुभएको छ, यही जीवनको मूल दुःख हो । हामी सोच्छौँ कि हामी केही छौँ, यही सबैभन्दा ठुलो दुःख हो । श्रीमद्भगवत गीता अध्यायः ३, श्लोकः २८ मा श्रीकृष्णले भन्नुहुन्छ, “गुणा गुणेषु वर्तन्ते” अर्थात् हामी माटोको पुतली हौँ, हामी समय, समाज र संयोगबाट उत्पन्न कठपुतली हौँ । यही जान्नु नै मुक्ति हो । यही नै सनातन धर्म हो ।
सनातन धर्म बोधको मार्ग हो, जसले सबै विश्वासबाट मुक्त रहँदै मुक्तितर्फ प्रेरित गर्छ । सनातनी हुनु र हिन्दु हुनु फरक कुरा हुन्, किनभने सनातनी कुनै विश्वासमा बाँधिएको हुँदैन । हिन्दुत्व भर्खर भर्खर आएको एउटा राजनीतिक विचार हो, जसले सांस्कृतिक राष्ट्रवादको समर्थन गर्छ । यसमा राष्ट्र र संस्कृतिलाई समान मानिन्छ र राजनीतिक शक्तिको प्रयोग यसमा समावेश हुन्छ । सनातन धर्म के हो भनेर बुझ्नुभन्दा पहिले हामीले स्पष्ट रूपमा बुझ्नु पर्छ कि के होइन सनातन किनकि वेदान्तमा नेती नेतीको प्रव्रिmया रहन्छ ।
मनका विचार सनातन होइनन्, भावना सनातन होइनन्, रूप सनातन होइनन्, परम्परा सनातन होइनन् । किनकि यी सबै सुरु हुन्छन्, अनि समाप्त हुन्छन् अर्थात् मनकै उत्पत्ति हुन् जुन संसारमा नै अवस्थित हुन्छन् । त्यसैले सनातन धर्मको उद्देश्य यही हुन्छ कि मनुष्यलाई त्यो सबैको पार लैजानु हो, जुन मरणधर्मा छ । जे पनि मनमा छ वा संसार, अर्थात् प्रकृतिमा छ, त्यो सबै मरणधर्मा छ । मन, विचार, परम्परा, प्रथा, नाम, रूप, आकार, विचारधारा, मत, सम्प्रदाय– यी कुनै पनि सनातन छैनन् र होइनन् पनि । हामीले श्रीकृष्णसँग कुनै किस्सा कहानी, नाम–रूप आदि जोड्यौँ भने हामीले श्रीकृष्णलाई सनातन रहन दिएनौँ । श्रीकृष्ण सनातन छन् निश्चित रूपमा, तर कहिले ? जब तिनमा त्यस्तो केही पनि छैन जसलाई काल खण्डित गर्न सकोस्, जसमा कालले दाग लगाउन सकोस् ।
र कथाहरूको त उत्पत्ति त कालबाट हुन्छ, ती त सिधै कालको काखमा खेल्छन् । त्यसैले कृष्णको विषयमा कथा छन्, त के कथा सनातन हुन सक्छन् ? यसैले म निर्भीक भएर भन्दछु कि, गीताका कृष्ण सनातन छन्, पौराणिक कृष्ण सनातन छैनन् ।
रामलाई लिएर पनि यसैले तुलसीदासले स्वयम्ले नै भनिदिनुभएको छ – चार राम छन्, जसमा चौथो राम मात्र सनातन छन् । रामका बारेमा जो उच्चतम समझ हुन सक्छ, त्यही राम सनातन छन् । बाँकी त्यो जो हामी व्यक्ति र व्यक्तित्वको सीमामा बाँध्छौँ श्रीरामलाई, त्यहाँ हामीले उहाँलाई सनातन हुनबाट वञ्चित गर्यौँ । त्यही कुरा फेरि शिवमा पनि लागु हुन्छ ।
जब निर्वाण षट्कम् मा सबै गुणलाई अस्वीकार गरेर भनिन्छ शिवोहम्, शिवोहम तब शिव सत्य–सनातन छन् । शिवलाई लिएर हामीले जो यो सबै होहल्ला नाच्ने गाउने, उफ्रिने गर्छौं, त्यहाँ हामीले शिवत्वसँग हामीले अन्याय ग¥यौँ, जसबाट शिवलाई सनातन हुनबाट पुनः वञ्चित ग¥यौँ ।
सनातनको अर्थ हुन्छ, त्यो जो कालको सीमाबाट बाहिरको हो । जसमा समयको प्रभाव पर्दैन, उसलाई भनिन्छ सनातन । त्यसैले सनातनलाई फेरि भनिन्छ सत्य । सत्य त्यो जो परिभाषाबाटै नित्य हो । नित्य भनेको कहिल्यै परिवर्तन नहुने; न जन्मिएको, न मर्ने; न सोचिएको, न अनुभव गरिएको; कुनै देख्ने वस्तु होइन, कुनै सुन्ने कुरा होइन । सनातन आत्मा हो र सनातन धर्मको अर्थ हो, मनलाई आत्माको तर्फ लैजानु । जो मुक्ति मात्रलाई जीवनको लक्ष्य बनाउँछ, वेदान्तमा दीक्षित छ, ऊ नै हिन्दु हो ।
अहिले अज्ञानताका कारण समग्र भारतदेखि नेपालसम्म वेदान्त दूषित भएको छ, गलत अनुवाद र कर्मकाण्डलाई बढी प्राथमिकता दिनुका कारण कालातीत सनातन ग्रन्थ, उपनिषद् र गीता, हिन्दुलाई आफ्नै ग्रन्थसँग घृणा, पाखण्डिता र कट्टरता फैलिरहेको छ । सनातनको नाममा, देशमा आफ्ना हिन्दु भाइहरू बिच कट्टरता फैलिरहेको छ । जसले वेदान्तलाई जान्छ र मान्छ, ऊ नै सनातनी हो । आचार्य प्रशान्त भन्नुहुन्छ, “पुराण, महाकाव्य र स्मृतिलाई पनि उपनिषद्को प्रकाशमा मात्र पढ्नु पर्छ र यदि स्मृतिहरू आदिका केही अंश उपनिषद्को विपरीत छन् भने, हामीलाई तुरुन्तै तिनीहरूलाई त्याग दिनु पर्छ ।”
आचार्य प्रशान्त एक भारतीय लेखक, सनातन धर्मका अद्वैत वेदान्तका शिक्षक हुनुहुन्छ । उहाँले १७ प्रकारका गीता र ६० प्रकारका उपनिषद्हरूको शिक्षा दिनुहुन्छ । उहाँले प्रशान्त अद्वैत फाउन्डेसन नामक एक गैरनाफामूलक संस्थाको स्थापना गर्नुभएको छ आचार्य प्रशान्तलाई सामाजिक सञ्जालमा ५८+ मिलियनभन्दा बढी मानिसले फलो गर्छन् । हरेक दिन ६०+ मिलियन मिनेटका भिडियो हेरिन्छन् । लाइफटाइम भिउज ६+ अर्बभन्दा बढी पुगेका छन् ।