• ६ पुस २०८१, शनिबार

आँखाको पर्दामार्फत हाजिरी गर्ने बढे

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, पुस ६ गते । वैदेशिक रोजगारीमा जानुअघि दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिमप्रदायक संस्थाको तालिम कक्षामा विदेश जानेको भिड बढ्न थालेको छ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जानुअघि दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम कक्षामा रेटिना जाँचमार्फत ‘फेसटाइम एटेन्डेन्स आइरिस रिकोगनाइजेसन सिस्टम’ गर्ने हाजिरी अनिवार्य गरेसँगै तालिम लिनेको भिड बढेको हो । अन्तर्राष्ट्रिय आप्रवासी श्रमिकको दिवसको अवसर पारेर विभागले गएको बुधबारदेखि सबै अभिमुखीकरण तालिम कक्षामा सहभागी सेवा दायक रेटिनाजाँच हाजिरी अनिवार्य गर्दै आएको छ । 

विभागका निर्देशक गुरुदत्त सुवेदीले रेटिनाजाँच हाजिरी अनिवार्य गरेपछि तालिमप्रदायक संस्थामा तालिम लिने सेवा लिनेको सङ्ख्या बढेको जानकारी दिनुभयो । यस प्रणालीमा हालसम्म ७० वटा तालिमप्रदायक संस्था जोडिएर रेटिनाजाँच हाजिरी सुरु गरेको पनि उहाँले जानकारी दिनुभयो । विभागका अनुसार अभिमुखीकरण तालिम दिन १४३ वटा संस्था दर्ता भएर सञ्चालनमा रहेका छन् । 

यसअघि वैदेशिक रोजगारीमा जाने श्रमिकले अभिमुखीकरण कक्षामा उपस्थित हुँदा हातको औँलाको बायोमेट्रिक (फिङ्गर प्रिन्ट) मार्फत हाजिरी लिने गरिएको थियो । 

अभिमुखीकरण कक्षामा श्रमिक उपस्थित नै नगराउने र उपस्थित भए पनि बायोमेट्रिक मात्रै लिने गर्दा कक्षा प्रभावकारी नभएपछि रेटिनाजाँच हाजिरी अनिवार्य गरिएको बताउँदै निर्देशक सुवेदीले भन्नुभयो, “श्रमिकले अभिमुखीकरण कक्षामा दिएको आइरिसको नमुना विदेश जान लागेका सम्बन्धित श्रमिकसँग मिले/नमिलेको परीक्षण गर्ने व्यवस्था पनि छिटै गर्छौं ।”  

श्रमिकसँग लिइने आइरिस नमुना राष्ट्रिय परिचयपत्रको प्रणालीसँग तालमेल गराएर हेर्ने गरी प्रविधि विकास गर्न लागेको विभागका निर्देशक सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार तालिमप्रदायक संस्थाको रेटिनाजाँच हाजिरी मिले/नमिलेको बारेमा परीक्षण गर्ने विषयमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र वैदेशिक रोजगार विभागबिच गत साता सम्झदारी भएको छ । 

विभागका अनुसार यी विभागका दुई प्रणाली आबद्ध गरेपछि श्रमिकले अभिमुखीकरण कक्षामा पुगेर दिने रेटिनाजाँच नमुना राष्ट्रिय परिचयपत्र दिँदा लिइएको आइरिस नमुनासँग मिल्नुपर्ने छ । हाल भने विभागले आफ्नै प्रणालीमा रेटिनाजाँच हाजिरी गराउँदै आएको छ । 

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई अनिवार्य रूपमा दिनुपर्ने दुईदिने अभिमुखीकरण कक्षा प्रक्रिया पूरा गर्न र शुल्क उठाउन मात्रै सीमित भएको छ । 

विभागले हाल लागु गरेको रेटिनाजाँच प्रणाली लागु गरे पनि श्रमिकलाई अभिमुखीकरण कक्षामा पुरै समय राखेर तालिम दिइने कार्य सुनिश्चित हुने दाबी गरिएको छ । 

विदेश जाने श्रमिकलाई सम्बन्धित देशको भूगोल, संस्कृति, कानुन, नियम र श्रमिकले ध्यान दिनुपर्ने स्वास्थ्यलगायतका पक्षबारे जानकारी दिन अभिमुखीकरण कक्षा दिने व्यवस्था गरिएको छ । यसका लागि श्रमकिले तोकिएका तालिम सेवाप्रदायकलाई सात सय रुपियाँ शुल्क बुझाउने गरेका छन् । 

विभागकै अनुगमनका क्रममा हाजिर गरेर विदेश जाने युवा कक्षाकोठामा नै नराख्ने गरिएको भेटिएपछि आइरिस सिस्टम लागु गर्ने योजना बनेको थियो ।