• ९ वैशाख २०८२, मङ्गलबार

सामूहिक साझेदारीले आत्मनिर्भर

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस ६ गते । विश्वव्यापी औद्योगिक विस्तारमा दक्षिण एसियाका विकल्पहरू विषयमा पोखरामा दुई दिनसम्म चलेको फेवा संवाद, २०२४ का सहभागीले दक्षिण एसियाका मुलुकको सामूहिक साझेदारीले आत्मनिर्भर हुन सक्ने बलियो सम्भावना दर्शाउनुभएको छ । 

त्रिभुवन विश्वविद्यालय र चीनको सिचुवान विश्वविद्यालयको संयुक्त आयोजनामा बिहीबार र शुक्रबार दुई दिन चलेको संवादमा बोल्दै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान विश्व व्यवस्थामा कुनै पनि राष्ट्र पूर्ण रूपमा आत्मनिर्भर हुन नसके पनि आपसी साझेदारीमार्फत आत्मनिर्भरताको बाटोमा अग्रसर हुन सक्ने औँल्याउनुभयो । गरिबी निवारणमा चीनको राम्रो उपलब्धिसँगै चीनको आर्थिक सफलता दक्षिण एसियाका लागि अनुकरणीय नमुना भएको उहाँले प्रस्ट्याउनुभयो । विकास र समृद्धिको यात्रामा चीन यस क्षेत्रका मुलुकको सहयोगी हुन सक्ने औँल्याउँदै उहाँले सुरक्षित, स्थायित्व र समृद्ध विश्वका लागि एकजुट हुनुपर्नेमा जोड दिनुभयो । 

सिचुवान विश्वविद्यालयका उपाध्यक्ष याओ लेयले सिचुआन विश्वविद्यालयले लामो समयदेखि दक्षिण एसियासँगको सहकार्यलाई बढावा दिन प्रतिबद्ध रहेको र दक्षिण एसियाली अध्ययनलाई अगाडि बढाउन अग्रसर रहेको बताउनुभयो । फेवा संवादको मञ्चमार्फत दक्षिण एसियाको समृद्धि र स्थायित्वका लागि विज्ञ र विद्वान्हरूले विचार आदानप्रदान गर्ने, समाधान खोज्ने र मिलेर काम गर्ने वातावरण बनाउने विश्वास उहाँले व्यक्त गर्नुभयो । 

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बरालले नेपालको सबैभन्दा पुरानो विश्वविद्यालयका रूपमा त्रिभुवन विश्वविद्यालयले सिचुवानसँग लामो समयदेखि सहयोगात्मक साझेदारी कायम गरेको जानकारी दिनुभयो ।

उहाँले चीन र अन्य दक्षिण एसियाली देशहरूसँगको सहकार्यलाई थप सुदृढ गर्न र द्विपक्षीय साझेदारी बढाउन र क्षेत्रीय विकासलाई प्रवर्धन गर्नुपर्नेमा जोड दिनुभयो । नेपालका लागि चीनका राजदूत छन सोङले पाँचौँ अन्तर्राष्ट्रिय औद्योगिक विस्तार सुरु भएको औँल्याउँदै २० वर्षमा एक पटक आउने यस अवसरलाई सदुपयोग गर्न दक्षिण एसियाका लागि आवश्यक रहेको बताउनुभयो ।

दक्षिण एसियाले क्षेत्रीय एकीकरणलाई बढावा दिनुपर्ने, खुला अर्थतन्त्र र समावेशी क्षेत्रवादप्रति प्रतिबद्ध रहनुपर्नेमा उहाँले जोड दिनुभयो । फेवा संवादले यस क्षेत्रका नीति निर्माताका लागि सही मार्गनिर्देशन दिने र गुणस्तरीय आर्थिक वृद्धिका लागि निरन्तर बल प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । 

फेवा संवादमा  नेपालका पूर्वउपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा, पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, पूर्व अर्थमन्त्री युवराज खतिवडा, नेपालका लागि पाकिस्तानका राजदूत अबरा हासमी, मलेसियाका पूर्वयातायातमन्त्री ओङ टी किटलगायत दक्षिण एसियाका एक सयभन्दा बढी नेता तथा विद्वानहरूको सहभागिता थियो ।