• ६ पुस २०८१, शनिबार

माछा मार्ने विस्फोटक पदार्थ पड्किँदा एक जनाको मृत्यु, दुई घाइते

blog

सांकेतिक तस्बिर

रेखीराम राना

तानसेन, पुस ५ गते। पाल्पामा विस्फोटक पदार्थ पड्किँदा एक जनाको मृत्यु भएको छ। एक जना गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका–४, हिंगानगर बस्ने २८ वर्षीय सुरज सोमै रहेको प्रहरीले जनाएको छ।

सोमैको बुटवल हस्पिटल प्रालि रुपन्देहीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो। विस्फोटक पदार्थ पड्किँदा सोही स्थानका २१ वर्षीय कोशिस भुजेल गम्भीर घाइते हुनुभएको छ। 

शुक्रबार दिउँसो पाल्पाको तिनाउ–२, बुढाचटक बस्ने मदनबहादुर सोमैको घर पछाडि माछा मार्ने विस्फोटक पदार्थ बनाउने क्रममा अचानक विस्फोट हुँदा सोमैसहित तीन जना घाइते भएका थिए। मृतक सोमै र घाइते भुजेल बिहीबार साँझ मदनबहादुर सोमैको घरमा बस्न आएका थिए। 

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रनाउ मल्लले जानकारी दिनुभयो। सलाईको काटीबाट माछा मार्ने विस्फोटक पदार्थ बनाउने क्रममा घटना भएको प्रहरीले जनाएको छ।