राधाकृष्ण डुम्रे
वालिङ, पुस ५ गते । स्याङ्जाको भिरकोट नगरपालिका–१ मा भएको आगलागीबाट १५ लाख बराबरको क्षति भएको छ भने एक जना घाइते भएका छन् । बिहीबार राती भिरकोट–१ का १ वर्षीय बेलनारायण श्रेष्ठको ढुङ्गा माटोले बनेको तथा जस्ताले छाएको दुईतले कच्ची घर र एक तले कच्ची गोठमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
आगलागीबाट एक लाख तीस हजार, सात तोला सुन र अन्य समान गरी १५ लाख बराबरको क्षति भएको प्रहरी निरक्षक उमेशलाल श्रेष्ठले जानकारी दिनुभयो । विद्युत् सर्ट भई आगलागी भएको प्रहरीले अनुमान गरेको छ ।
आगो निभाउने क्रममा स्थानीय ५० वर्षीय कोटबहादुर मगर घाइते हुनुभएको हो । उहाँको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ । मगरको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ ।
आगलागी भएको ठाउँ राजमार्गबाट नजिकै भएको भएपनि साँघुरो सडकका कारण वालिङबाट गएको दमकल राजमार्गमा नै रोकिएको थियो । स्थानीय तथा सुरक्षा निकायको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ ।