अमरराज नहर्की
तनहुँ, पुस ५ गते । तनहुँका पालिकाका वडाहरुबाट नागरिकताको सिफारिस अनलाइनबाटै हुने भएको छ । अनलाइनबाट सिफारिस गर्नको लागि जिल्ला प्रशासन कार्यालयले पालिकामै पुगेर प्रशिक्षण प्रदान गरिरहेको छ ।
दश पालिकामध्ये छ पालिकामा प्रशिक्षण प्रदान गरिसकेको छ भने चारमा तालिम दिने तयारी गरिएको छ । व्यास नगरपालिका, ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिका, भीमाद नगरपालिका, शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिकामा प्रशिक्षण प्रदान गरिसकिएको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिनुभयो ।
थापाका अनुसार देवघाट गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र भानु नगरपालिमा तालिम दिने तयारी भइरहेको छ । प्रअिज थापाले भन्नुभयो, "यही पुस १५ गतेदेखि सबै पालिकाका वडाबाट अनलाइनबाटै सिफारिस हुने व्यवस्था मिलाउन लागेका छौं त्यसको लागि तालिम धमाधम प्रदान भइरहेको छ ।"
जिल्ला प्रशासन कार्यालयबाट प्रवाह गरिने नेपाल नागरिकताको प्रमाणपत्र वितरण सम्बन्धी सेवालाई छिटो, छरितो, त्रुटिरहित र प्रविधिमैत्री बनाउने ध्येयका साथ नेपाली नागरिकता प्रमाणपत्र प्राप्तिका लागि स्थानीय तहहरुबाट गरिने अनुसूची सिफारिसलाई अनलाइन प्रणालीबाट गराउन थालिएको हो ।
नागरिकता वितरण कार्यलाई छिटो, छरितो, त्रुटि नहुनको लागि व्यवस्थित र प्रवधिमैत्री बनाउँदै सेवाप्रवाहको गुणस्तरमा अभिवृद्धि गर्न अनलाइनस सिफारिस गर्न लागिएको थापाले बताउनुभयो । सेवाग्राहीले सिफारिसका लागि आवश्यक कागजपत्र लिएर वडामा गएपछि वडा कार्यालय आफैंले जिल्ला प्रशासन कार्यालयको अनलाइनमा नागरिकता अनुसूचीको फारम भरेर अपलोड गरिदिने जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।
विद्युतीय व्यवस्थाले सबै प्रणालीलाई एकीकृत गर्न र दस्तावेज कायम गर्न सहज हुने प्रअिज थापाले बताउनुभयो । थापाका अनुसार तत्काललाई नयाँ नागरिकताको मात्र सिफारिसका लागि यो सेवा सुचारु गरिने र चाँडै नै प्रतिलिपिको सेवा सुरु गर्ने तयारी गरिएको छ ।