• ५ पुस २०८१, शुक्रबार

धार्मिक सद्भावबाट राष्ट्रियता बलियो हुन्छ : ईश्तियाक राई

blog

मेलाको उद्घाटनमा बोल्दै पूर्वमन्त्री राई । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, पुस ५ गते । पूर्वमन्त्री तथा जनता समाजवादी पार्टीका महासचिव मोहम्मद ईश्तियाक राईले सबै नेपालीबिचको अटुट एकताबाट नै राष्ट्रियता बलियो हुने बताउनुभएको छ । 

बाँकेको डुडुवा गाउँपालिका ५ कम्दीमा सुरु भएको कम्मर शाह बाबा मेलाको उदघाटन गर्दै पूर्वमन्त्री राईले सबै धर्म, जातजाती र वर्गको सहभागिता रहने यस्ता मेला महोत्सवले परम्परागत कला र संस्कृृतिको जगेर्ना गर्नुका साथै नागरिकबिचको एकतालाई पनि सुदृढ पार्ने बताउनुभयो । उहाँले कम्मर शाह बाबाको मेलामा मुस्लिम भन्दा हिन्दु समुदायका मानिसहरु बढी पुग्ने गरेको जनाउँदै हरेक वर्ष लाग्ने यो मेला धार्मिक सद्भाव र एकताको प्रतिक बनेको बताउनुभयो । 

सो अवसरमा संघीय सांसद तथा पूर्व स्वास्थ्य राज्यमन्त्री हसिना खान, लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेश कुमार अग्रवाल, लुम्बिनी प्रदेशका पूर्व कृषिमन्त्री भण्डारीलाल यादव लगायत ठुलो संख्यामा स्थानीयको उपस्थिति रहेको थियो ।

चार दिनसम्म सञ्चालन हुने सो मेलामा बाँके र बर्दियाका सर्वसाधारणसँगै सीमावर्ती भारतीय क्षेत्र बाबागञ्ज, नानपारा, श्रावस्तीबाटसमेत ठुलो संख्यामा भारतीय नागरिक मेला भर्न आउने गरेको मेला व्यवस्थापन समितिका अध्यक्ष झंक बहादुर थापाले जानकारी दिनुभयो । उहाँले यो मेला हिन्दु मुस्लिम एकताको रुपमा बर्षौंदेखि आयोजना गरिंदै आएकोले यसको निकै महत्व रहेको बताउनुभयो ।  

मेलामा नेपाली लोक सांस्कृतिक नृत्य प्रतियोगितासमेत आयोजना गरिने छ । पुस ६ गते स्थानीय कला संस्कृतिको संरक्षण सम्बद्र्धन गर्ने उदेश्यका साथ सांस्कृतिक नृत्य प्रतियोगिता आयोजना गरिने समितिका अध्यक्ष थापाले बताउनुभयो । 

मेलामा सांस्कृतिक प्रतियोगितासंगै विभिन्न झाँकी, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुतिलगायतका गतिविधीहरु समेटिने भएको छ । आयोजकका अनुसार पुस ६ गते नेपाली लोक सांस्कृतिक नृत्य प्रतियोगिता, ७ गते दिउँसो र रातीसमेत नेपाली सांस्कृतिक कार्यक्रमसँगै नेपाली कलाकारहरुको प्रस्तुति रहने छ । 

प्रतियोगितामा विजयी हुनेलाई २५ हजार, दोस्रो हुनेलाई १५ हजार र तेस्रो हुने प्रतिस्पर्धीलाई ६ हजार ५०० रुपियाँ पुरस्कार तथा प्रमाण प्रत्र प्रदान गरिने प्रतियोगितामा सहकार्य गरेको स्थानीय नवदुर्गा युवा क्लव डुडुवा ५ बाँकेका अध्यक्ष निर्मल चन्दले बताउनुभयो ।