• ५ पुस २०८१, शुक्रबार

कोप-१६ र कोप-२९ का सहभागीसँग आदिवासी जनजातिको छलफल

blog

काठमाडौं, पुस ५ गते । जैविक विविधता सम्बन्धी विश्व सम्मेलन कोप-१६ तथा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि (यूएनएफसीसीसी)का पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप-२९) मा सहभागीहरूले त्यहाँ उपस्थित हुँदा बुझेका, देखेका अनुभवहरूको आदानप्रदान गरेका छन् ।

नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) र आदिवासी जनजाति महिला मञ्च (निफ)ले आज काठमाडौंमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरी कोप-१६ र कोप-२९ मा नेपालबाट सहभागी भएका विशेषगरी आदिवासी जनजाति मुद्दामा काम गर्ने सहभागीहरूले अनुभव आदानप्रदान गरेका हुन् ।

त्यस अवसरमा जैविक विविधता र जलवायु परिवर्तन तथा आदिवासी जनजातिको अधिकारका विषय अत्यन्त महत्वपुर्ण भएपनि यसका विषयमा नेतृत्व तहमै राम्रोसँग जानकार हुन नसकेको सहभागीहरूले बताएका थिए । आफूले सिकेका ज्ञानहरू अरूलाई पनि जानकारी दिनुपर्ने भन्दै उनीहरूले जलवायु परिवर्तन मानव सभ्यताकै ठुलो चुनौतीको रूपमा आएकोले यसका विषयमा सबैले जान्न, बुझ्न र त्यसको अनुकुलनका लागि काम गर्न आवश्यक रहेको बताएका थिए ।

अहिले हिमालमा हिउँ पग्लिएर हिमाल कालो देखिँदै गएको भन्दै हिँउ पग्लिएर बनेको हिमतालको कारणले त्यस आसपासमा रहेका आदिवासी बस्तीहरू सबैभन्दा बढी जोखिममा रहेको सहभागीले बताएका थिए । जसले फोहोर गर्छ त्यसले नै त्यो फोहोर सफा गर्नुपर्छ भन्ने मान्यता भएपनि धनी मूलुकहरू जसले जलवायु परिवर्तन गर्न भूमिका खेलेका छन्, ती मुलुकहरूले तिर्छु भनेर कमिटमेन्ट गरेर रकम तिरेका छन् कि छैनन् र उक्त रकम आदिवासी जनजाति समुदायका लागि खर्च भएको छ कि छैन भन्ने कुरा बुझ्न आवश्यक रहेको उनीहरूको भनाइ थियो ।

हरेक वर्ष जलवायु परिवर्तन अनुकुलनका निम्ति कति बजेट आउँछ र त्यो कहाँ कसरी खर्च हुन्छ रु भन्ने कुरा जलवायु परिवर्तनबाट प्रभावित आदिवासीले थाहा पाउनुपर्ने सहभागीले बताउनुभयाे ।

नेफिनका अध्यक्ष गेल्जे लामा शेर्पाको अध्यक्षतामा भएको कार्यक्रममा कमल साम्पाङ र टुङ्गभद्र राईले जैविक विविधता र कोप सम्बन्धी जानकारी दिएका थिए भने देवकुमार सुनुवारले युएन भोल्युन्टरी फन्डको विषयमा जानकारी दिनुभयाे ।

त्यस अवसरमा नेफिनका अध्यक्ष गेल्जे लामा शेर्पाले केही समय पहिले शोलुखुम्बुको माथि थामेमा दुईवटा हिमतालहरू फूट्दा आदिवासी शेर्पा समुदाय प्रभावित भएको बताउनुभयाे । "जलवायु परिवर्तनले नेपालमा के असर गरेको छ । त्यसले के कति क्षती पुर्‍याएको छ रु अहिले हिमालको हिउँ पग्लिएको छ । हिम तालहरूको संख्या वृद्धि भइरहेका छन् । जसले गर्दा हाम्रा आदिवासी वस्तीहरू जोखिममा छन्", अध्यक्ष शेर्पाले भन्नुभयाे, "अहिले त्यस्ता कम्तिमा पनि २ हजार तालहरू बढेका छन् । भोली त्यसले ल्याउन सक्ने क्षती निकै डरलाग्दो छ ।"

शक्ति राष्ट्रहरू जसका कारणले जलवायु परिवर्तन गराउन भूमिका खेलेका छन्, उनीहरूका कारण जलवायु परिवर्तनसँगै आदिवासी जनजाति समुदायका आर्थिक, भौतिक, सांस्कृतिक क्षती भएको उनको भनाइ छ । उहाँले भन्नुभयाे, "जलवायु परिवर्तनको कारणले हाम्रा हिमाल त पग्लिएका छन् नै । सँगै हामी आदिवासीको सांस्कृतिक क्षती भएको छ। भौतिक, आर्थिक क्षती भएको छ । अहिले जलवायु परिवर्तन गराउन भूमिका खेल्ने राष्ट्रहरूले पठाउने क्षतीपुर्ती बापतको रकम हामी आदिवासी जनजातिहरूको नाममा आउँछ। तर त्यो कहाँ कसरी खर्च भएको छ ?"

नेपालमा आदिवासी जनजातिको नाममा धेरै बजेट ल्याएर अरूले नै खर्च गरिरहेको भन्दै जसका निम्ति खर्च हुनुपर्ने हो त्यसका निम्ति खर्च नभएको दाबी समेत अध्यक्ष शेर्पाले गर्नुभयाे । "आदिवासी जनजातिका नाममा विभिन्न गैरसरकारी संस्थाहरूले बजेट ल्याएर खाइरहेका छन् । तर नेफिनलाई थाहै छैन । २ र ४ जना आदिवासीहरू उभ्याएको छ । बजेट जति जम्मै कता गएको छ कता ?, उहाँले भन्नुभयाे, "केही गैरसरकारी संस्थाहरूले विदेशमा गएर

नेपालमा आदिवासी जनजातिहरूको क्षेत्रमा काम गर्ने त हामी हो नि भनेर बजेट ल्याएर खाइरहेका छन् । तर त्यो आदिवासी जनजातिका लागि खर्च भएको छैन ।"

जलवायु परिवर्तनले सबैभन्दा बढी क्षती आदिवासी जनजातिलाई भएकोले उनीहरूका नाममा आएको बजेट उनीहरूकै लागि खर्च हुनुपर्ने उहाँकाे भनाइ छ । त्यस अवसरमा बोल्दै निफका अध्यक्ष सुनी लामाले जलवायु परिवर्तनका कारण सबैभन्दा बढी आदिवासी महिलाहरू प्रभावित हुने गरेको बताउनुभयाे ।

प्रकृति र प्राकृतिक स्रोतसँग सबैभन्दा निकट आदिवासी महिलाहरू रहने र त्यसको प्रयोग पनि आदिवासी महिलाहरूले गर्ने भएकाले जलवायु परिवर्तनको असर आदिवासी महिलाहरूले भोग्दै आएको समेत उहाँकाे भनाइ छ ।

कार्यक्रममा बोल्दै नेफिनका महासचिव दिवस राईले हिउँ पग्लिने र हिउँ नदीहरू बढ्दै गएर त्यसका वरिपरि रहेका आदिवासी वस्तीहरू बढी भन्दा बढी जोखिममा रहने अवस्था रहेको बताउनुभयाे ।