अमरराज नहर्की
तनहुँ, पुस ५ गते । विस्तारका क्रममा रहेको पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडक योजना अन्तर्गत पश्चिम खण्डको दोस्रो पटक म्याद थप भएको छ। निर्धारित समय समाप्त भएपछि म्याद थप गर्न निर्माण कम्पनीले आग्रह गरे बमोजिम एक वर्ष समय थप गरिएको हो ।
निर्माण आरम्भमा ढिलाइ गर्नु, रुख कटान आदेश ढिलो गरी प्राप्त हुनु, विद्युत् प्रसारण लाइन सार्न तथा खानेपानीको पाइप व्यवस्थापन गर्न समस्या हुँदा काम प्रभावित भएको थियो । आयोजनाका पश्चिम खण्डका प्रमुख इन्जिनियर राजेश पौडेलले एक वर्ष म्याद थप भएको जानकारी दिनुभयो ।
आगामि विसं २०८२ पुस १६ गतेसम्मका लागि थप भएको पौडेलले बताउनुभयो । पश्चिम खण्डको जामुनेदेखि पोखरासम्मको ३८.८८ किलोमिटर दूरीमा ३५ प्रतिशत प्रगति भएको उहाँले जानकारी दिनुभयो ।
यस खण्डमा ठुला र साना गरी १३ वटा पुलमध्ये पाँच वटा सम्पन्न भएको पाँच वटाको निर्माणको अन्तिम चरणमा पुगेको पौडेल बताउनुहुन्छ । आयोजना प्रमुख पौडेलका अनुसार यो खण्डमा १९ किलोमिटर दूरीमा दुई लेन सडक कालोपत्रे सकिएको छ भने पाँच किलो मिटर दुई दुवैतर्फ गरी चार लेनमा पुरा भएको छ । पौडेलले भन्नुभयो, “२४ किलोमिटर कालोपत्रे पूरा भइसकेको छ दश वटा पुल एक महिनाभित्रै सञ्चालनमा ल्याउने तयारी गरेका छौं ।’
सडकको स्तरोन्नति हुने क्षेत्रभित्र रहेका २४ वटा खानेपानी संस्थासँग सम्बन्धित पाइपलाइन तथा संरचना स्थानान्तरणका लागि सम्झौता भई सम्बन्धित उपभोक्ताबाट स्थानान्तरण भइरहेको आयोजनाले जनाएको छ । पोखरा–मुग्लिङखण्ड दुई भागमा बाँडेर विस्तारको काम चिनियाँ कम्पनीले गरिरहेका छन् ।
मुग्लिङदेखि तनहुँको जामुनेसम्म ४१ किलोमिटर पूर्वी खण्डमा चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले २०७७ वैशाखदेखि काम गरिरहेको छ भने जामुनेदेखि पोखरासम्म पश्चिम खण्ड चीनकै यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले ०७८ भदौदेखि विस्तारको काम गरिरहेको छ ।
पश्चिम खण्डमा विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । विसं २०८१ भदौ १२ गतेसम्म म्याद रहेकामा त्यसअवधिमा उल्लेख्य प्रगति नभएपछि यस खण्डमा पहिलोपटक एक सय एक दिनका लागि म्याद थप भएको थियो । विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो ।
पश्चिम खण्डको ठेक्का रु. सात अर्ब ४० करोड ४६ लाखमा लागेको छ । तीन वर्षभित्र सडक निर्माण गरी हस्तान्तरण गर्ने गरी राजमार्गको पूर्वीखण्ड (आँबुखैरेनी– जामुने) २०७७ माघ १७ गते र पश्चिम खण्ड (जामुने–पोखरा) २०७८ जेठ २ गते सरकार र निर्माण पक्षबीच सम्झौता भएको थियो ।