• ५ पुस २०८१, शुक्रबार

एसियाली राजमार्गबाट लाभ लिन सुझाव

blog

रङ्गेली समाचारदाता

विराटनगर, पुस ५ गते । त्रिदेशीय जीवनरेखा विराटनगर रानी–सङ्खुवासभा–किमाथाङ्का सडक सञ्जाल जोडिएर विराटनगर महानगरपालिकाले प्रतिस्पर्धात्मक लाभ लिन सहज हुने औद्योगिक क्षेत्रका उद्योगीले बताएका छन् । 

विराटनगर महानगरपालिका, नेपाल उद्योग वाणिज्य महासङ्घ कोशीको आयोजनामा सम्पन्न कार्यशालामा उद्योगीले रानी–किमाथाङ्का सडक निर्माण सम्पन्न भए त्यसको लाभ विराटनगरले धेरै लिन सक्ने बताएका हुन् । 

चीन–नेपाल–भारत जोड्ने उत्तरदक्षिण आयोजना रानी–किमाथाङ्का सडक राष्ट्रिय गौरवको आयोजना भए पनि यसको निर्माणमा ढिलाइ हुनु चिन्ताको विषय भएको उद्योगी बताउँछन् । नेपाल उद्योग वाणिज्य महासङ्घ कोशीका अध्यक्ष राजेन्द्र राउतले एसियन हाइवेमा जोडिएको नेपाल अब त्रिदेशीय सडक सञ्जालमा समेत जोडिए त्यसको लाभ विराटनगर महानगरपालिकालाई हुने बताउनुभयो । 

जर्मन फेडरल इन्टरप्राइजेज फर इन्टरनेसनल कोअपरेसन (जिआइजेड) को प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा विराटनगरको भौगोलिक अवस्थिति र प्रमुख व्यापारिक राजमार्ग रानी–किमाथाङका नै हुने जोड दिइएको छ । जसले सीमापार व्यापारको प्रवेशद्वारका रूपमा विराटनगर थप मजबुत हुने दाबी गरिएको थियो । 

उद्योगी राउतले एसियन हाइवेसँगै रानी–किमाथाङका सडक सम्पर्क सञ्जालले भारत, चीनसँग सहज पहुँच बनाउने बताउनुभयो । सुनसरी–मोरङ औद्योगिक कोरिडोरका औद्योगिक प्रतिष्ठानले देशका विभिन्न भागबाट आएका अवसरको खोजीमा रहेका कैयौँ युवालाई  रोजगारी दिइरहेको बताउनुभयो । सडक सञ्जालमा जोडिने हो भने यसको सम्भावना अझै धेरै हुने र अझ प्रतिस्पर्धात्मक लाभ हुने बताइएको छ । नेपालको आर्थिक विकासमा टेवा पुग्ने कतिपय योजनालाई राज्यले प्राथमिकतामा राख्नुपर्ने उहाँको भनाइ छ । 

विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले उद्योग व्यवसाय प्रवर्धनमा स्थानीय तहले सकेसम्मको योगदान गरिरहेको बताउनुभयो ।