गोकर्ण दयाल
बैतडी, पुस ५ गते । बैतडीबाट गत वर्ष चार लाख किलो जडीबुटी निकासी गरेर सरकारले १६ लाख रुपियाँ राजस्व प्राप्त गर्दा जिल्लाका चार वटा आयुर्वेदिक अस्पतालका लागि ५० लाख रुपियाँ खर्च गरेर जडीबुटीको चूर्ण खरिद गरेको छ । राज्यलाई तीन गुणा बढी घाटा भए पनि जिल्लामा न प्रशोधन केन्द्र खुल्न सकेको छ न त जडीबुटी निकासीसम्बन्धी नयाँ मापदण्ड नै बन्न सकेको छ ।
बैतडीलगायत सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा पाइने जडीबुटी प्रतिकिलो दुई रुपियाँ राजस्व तिरेर बिचौलियाले भारत निकासी गर्दै आएका छन् ।डिभिजन वन कार्यालय बैतडीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/८१ मा अमला ७५ हजार किलो, तेजपत्ता ५५ हजार किलो, चुत्रो ३० हजार किलो, पाषाणभेद ३८ हजार किलो, रातो च्याउ पाँच हजार किलो, रिट्ठो एक लाख किलो गरी चार लाख किलो जडीबुटी निकासी भएको छ । वनबाट महìवपूर्ण जडीबुटी अनियन्त्रित ढङ्गले दोहन हुँदा संरक्षणको जिम्मेवारी पाएका प्रदेश र स्थानीय तहको सरकारको भूमिका पनि अत्यन्त कमजोर बन्न पुगेको छ ।
यसरी निकासी हुने जडीबुटी प्रशोधनपछि पुनः महँगो मूल्यमा जिल्ला भित्रिने गरेको दशरथ चन्द नगरपालिका–४ स्थित आयुर्वेदिक अस्पतालका प्रमुख नरेन्द्र कलौनीले बताउनुभयो । जिल्लामै पाइने पहाडी अमला दुई रुपियाँ प्रतिकिलो राजस्व तिरेर बाहिर गइरहेको अवस्थामा आयुर्वेदिक अस्पतालले दुई हजार रुपियाँ प्रतिकिलो अमलाको चूर्ण किन्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।
प्रदेश सरकारमातहत रहेका जिल्ला आयुर्वेदिक अस्पताल मेलौली, स्थानीय तहमातहत रहेका दशरथ चन्द नगरपालिका–१, गुरुखोला, ४ नम्बर वडाको शाहीलेक र सिगास गाउँपालिका–२, गाँजरीमा रहेका आयुर्वेदिक अस्पतालले वार्षिक ५० लाख रुपियाँभन्दा बढी खर्च गरेर बाहिरबाट जडीबुटीको धुलो किन्दै आएका छन् ।
जिल्ला आयुर्वेदिक अस्पताल मेलौलीले मात्रै वार्षिक २५ देखि ३५ लाख रुपियाँको जडीबुटी खरिदमा खर्च हुने गरेको अस्पतालमा लेखापाल प्रेमराज भट्ले बताउनुभयो ।
आयुर्वेदिक औषधालयमा सरकारले तोकेका २५ किसिमका जडीबुटीको धुलो वितरण गर्न दशरथ चन्द नगरपालिकामा मात्रै वार्षिक रूपमा ११ लाख रुपियाँ खर्च भइरहेको दशरथ चन्द नगरपालिका–४ स्थित आयुर्वेदिक अस्पतालका प्रमुख कलौनीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “नगरपालिकाभित्र ७० किसिमका जडीबुटी छन् । जिल्लामा प्रशोधन केन्द्र नहुँदा बिचौलियाले न्यून राजस्व तिरेर बाहिर लैजाँदा राज्यलाई ठुलो घाटा भइरहेको छ ।”
स्वदेशमा रोजगारीको अवसर नहुँदा सुदूरपश्चिमका हजारौँ युवाको ऊर्जाशील समय र जवानी भारतमै श्रम गरेर खर्च भइरहेका बेला जडीबुटीको सदुपयोग नहुँदा कौडीको भाउमा भारततिर निकासी हुने गरेको उहाँले गुनासो गर्नुभयो ।
बैतडीबाट हरेक वर्ष अमला, तेजपत्ता, सिमजडी, चुत्रो, सुगन्धवाल, अमला, रिट्ठो, हर्रोबर्रोलगायतका जडीबुटी सङ्कलन भएर निकासी हुने गरेको डिभिजन वन कार्यालय बैतडीका सूचना अधिकारी मदन जोशीले बताउनुभयो । तथ्याङ्क अनुसार बैतडीबाट आव २०७८÷७९ मा एक लाख ७६ हजार किलो, आव २०७९/८० मा दुई लाख ६४ हजार किलो र आव २०८०/८१ मा चार लाख किलो जडीबुटी निकासी भएको जोशीले बताउनुभयो ।
जडीबुटी सङ्कलन र निकासीको परिमाण हरेक वर्ष दोब्बरले बढ्दै गए पनि जिल्लामा जडीबुटी कति रहेको छ ? भन्ने कुनै तथ्याङ्क छैन । डिभिजन वन कार्यालयको तथ्याङ्क अनुसार जिल्लामा ६५ किसिमका जडीबुटी रहे पनि उत्पादनको अवस्थाबारे तथ्याङ्क छैन । सामुदायिक वनको कार्ययोजना अनुसार जडीबुटी सङ्कलन हुने गरेको सूचना अधिकारी जोशीले बताउनुभयो ।
बैतडीको चुत्रो (स्थानीय भाषामा किरमडा) को अनियन्त्रित दोहन हुन थालेपछि यो बिरुवा नै हराउने अवस्था आएको नागरिक अगुवा उद्धव धामीले बताउनुभयो । किरमडाको जरा र डाँठ सङ्कलन गरी निकासी गर्न १० रुपियाँ प्रतिकिलो राजस्व तिरेर अनियन्त्रित दोहन हुने गरेको स्थानीय वैद्य भोजराज भट्टले बताउनुभयो । चुत्रोबाट आँखाको औषधीलगायत विभिन्न रोगको उपचारमा प्रयोग हुने जडीबुटी बन्ने गरेको उहाँले बताउनुभयो ।
जडीबुटीको उचित मूल्य नहुँदा सस्तोमै बेच्नुपर्ने बाध्यता रहेको व्यवसायी सुर्नया गाउँपालिका–३ का वासुदेव भट्टले बताउनुभयो । उहाँले सुर्नयाबाट चुत्रो, तेजपत्ता, अमलालगायत वार्षिक १० हजार किलोभन्दा बढी भारत निकासी गर्दै आएको बताउनुभयो ।
छैन प्रशोधन केन्द्र
सुदूरपश्चिम प्रदेशमा जडीबुटी प्रशोधन केन्द्र नहुँदा बिचौलियाले जिल्लाबाट निकासी गरेको जडीबुटी नेपालगन्जको बाटो भएर भारत पु¥याउने गरेको वन कार्यालयका कर्मचारीको स्वीकारोक्ति छ ।
जिल्लाबाट सस्तो मूल्यमा निकासी भइरहेको अमला त्रिफला नामक आयुर्वेदिक औषधीमा प्रयोग हुने बैतडीस्थित आयुर्वेदिक औषधी पसलका सञ्चालक वैद्य भोजराज भट्टले बताउनुभयो । नेपाली बजारमा त्रिफला चूर्णको मूल्य एक सय ग्रामको ११० रुपियाँ पर्ने उहाँले बताउनुभयो ।
पछिल्लो समय नेपालमा विभिन्न आयुर्वेदिक औषधी कम्पनी खुले पनि झोल औधषी उत्पादन गर्ने कम्पनी नभएकाले आयुर्वेदिक झोल औषधी भारतबाटै आउने गरेको उहाँले बताउनु भयो ।
तत्काल निकासी रोक्न नसकिने
सुदूरपश्चिम प्रदेशमा जडीबुटी अनुसन्धान केन्द्र स्थापना गर्ने सरकारी लक्ष्य पूरा हुन सकेको छैन । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लाई असुन्धानको जिम्मेवारी दिए पनि भौतिक संरचना र आवश्यक उपकरण तयार हुन सकेको छैन ।
सुदूरपश्चिम प्रदेशमा जडीबुटी अनुसन्धान केन्द्र स्थापना गरेर नेपालमा पाइने सबै जडीबुटी एकै ठाउँमा ल्याएर अनुसन्धान गर्ने लक्ष्य रहेको नास्टका सचिव वैज्ञानिक डा. रवीन्द्रप्रसाद ढकालले बताउनुभयो ।
उहाँले भन्नुभयो, “सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा अनुसन्धान केन्द्र सञ्चालनका लागि सम्पर्क कार्यालय स्थापना गरेका छौँ । संचरना निर्माण गर्न प्रदेश सरकारले चालु आवमा ७० लाख रुपियाँ बजेट विनियोजन गरेको छ । यत्तिले मात्रै पुग्दैन । अनुसन्धानका लागि आवश्यक वैज्ञानिकको जनशक्ति भए पनि संरचना तयार हुन केही वर्ष लाग्छ ।”
तथ्याङ्क अनुसार बैतडीका १० वटा स्थानीय तह र ८४ वडामा क्यान्सर रोग निको पार्ने लौठसल्लादेखि पाँचऔँले, पाषणभेद, चिराइतो, सुगन्धवाल, चुत्रो, तेजपत्ता, रिट्ठो, सिमजडी, अमला, हर्राबर्रो, गुड, महलगायत ६५ भन्दा बडी जडीबुटी पाइन्छ ।