गोरखापत्र समाचारदाता
काठमाडौँ पुस ५ गते । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान) ले विद्युत्को क्षेत्रमा तीव्र विकासका लागि ऊर्जा सङ्कटकाल लगाउन माग गरेको छ । संस्थाको २५ औँ वार्षिकोत्सवबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा इप्पानका अध्यक्ष गणेश कार्कीले यस्तो माग गर्नुभएको हो ।
सरकारले सन् २०३५ सम्म २८ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको र त्यो पूरा गर्न अहिलेकै कानुनी तथा नीतिगत संरचनाले सम्भव नहुने देखिएको भन्दै उहाँले सङ्कटकाल आवश्यक रहेको जिकिर गर्नुभएको हो ।
“जलविद्यत् तथा प्रसारण लाइन आयोजना बनाउन जग्गा प्राप्ति तथा वन तथा वातावरणसम्बन्धी प्रावधानले असाध्यै कठिन बनिरहेको छ,” उहाँले भन्नुभयो, “व्यवधानकारी व्यवस्था निलम्बन गरेर ऊर्जा क्षेत्रमा तीव्र प्रगति हासिल गर्न सङ्कटकाल आवश्यक भएको हो ।” कार्कीले सरकारले एकातर्फ ऊर्जा विकासको मार्गचित्र ल्याउने र अर्कातर्फ सरकारकै अर्को निकायले आयोजना बनाउनै नदिने नियत राख्ने गरेको आरोप लगाउनुभयो । उहाँले संसद्मा विचाराधीन विद्युत् विधेयकसमेत निजी क्षेत्रका लागि घातक र व्यवधानकारी रहेको टिप्पणी गर्नुभयो ।
उहाँले भारतले विद्युत् दिन रोक्दा नेपाल पुनः लोडसेडिङको चपेटामा पर्ने खतरा बढेको भन्दै देशभित्र तीव्र रूपमा जलविद्युत् आयोजना विकास गर्नु अत्यावश्यक रहेको उल्लेख गर्नुभयो ।
इप्पानका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले २८ हजार मेगावाट विद्युत् उत्पादनका लागि ५८ अर्ब अमेरिकी डलर आवश्यक पर्ने र यसका लागि स्वदेशी पुँजी मात्र पर्याप्त नहुने भएकाले विदेशी लगानी आकर्षित गर्न एकद्वार नीति आवश्यक रहेको औँल्याउनुभयो । “जलविद्युत् आयोजना तथा प्रसारण लाइन निर्माणका लागि सयौँ कार्यालयको ढोका चहार्दै हिँड्नुपर्ने अवस्था अन्त्य गरेर ऊर्जा मन्त्रालयमातहत सबै काम हुने व्यवस्था गर्नु पर्छ,” उहाँले भन्नुभयो ।
रजत जयन्ती मनाइने
इप्पानले आफ्नो २५ औँ वार्षिकोत्सव कार्यक्रमलाई विशेष रूपमा मनाउने जनाएको छ । आगामी माघ ४ गते प्रधानमन्त्री, ऊर्जामन्त्री, अर्थमन्त्रीसमेतको उपस्थितिमा तीन वटा विशेष सत्र सञ्चालन गरिने पत्रकार सम्मेलनमा जानकारी गराइयो । वार्षिकोत्सवका अवसरमा निबन्ध लेखन, वृत्तचित्र तथा फोटो प्रदर्शनी, खेलकुद प्रतियोगिता तथा रक्तदान कार्यक्रमसमेत गरिने इप्पानले जनाएको छ ।
रजत जयन्तीलाई भव्य रूपमा सम्पन्न गर्न वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको इप्पानले जनाएको छ ।