गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस ५ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले पुस १५ गतेभित्र सबै विभागलाई विभागीय कामको रिपोर्ट तयार गर्न निर्देशन दिएको छ । एमालेको केन्द्रीय कमिटी बैठकको पूर्वसन्ध्यामा केन्द्रीय विभागका प्रमुख र सचिवहरूको संयुक्त बैठकमा पार्टी महासचिव शङ्कर पोखरेलले यस्तो निर्देशन दिनुभएको हो ।
संयुक्त बैठकले पार्टीविरुद्धको घेराबन्दी र आक्रमणलाई दृढतापूर्वक सामना गर्ने पनि निर्णय गरेको छ । पार्टी तथा पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको कामलाई थप प्रभावकारी बनाउन पार्टीपङ्क्तिलाई लाग्नसमेत निर्देशन दिइएको छ । एमालेले यसअघि दुईदिने राष्ट्रिय कार्यशाला गरेर निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्ने सङ्कल्प गरेको थियो । बैठकमा महासचिव पोखरेलले सरकार कामलाई चुस्त र दुरुस्त बनाउन सेवा प्रवाहमा के कस्ता उपाय अवलम्बन गर्न सकिन्छ भन्नेबारेमा सुझाव दिन अनुरोध गर्नुभयो । उहाँले दुई दलको सहमतिमा पार्टी अध्यक्ष केपी ओली नेतृत्वमा सरकार बनेको बताउँदै वर्तमान सरकारबाट अर्थतन्त्रमा सुधार, वैदेशिक लगानीमा वृद्धि, महत्वपूर्ण कानुन निर्माण भएको बताउनुभयो ।
एमालेका महासचिव पोखरेलले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई लक्षित गर्दै सोसल मिडियाको ‘स्टन्ट’ बाट राजनीतिमा उदाएकाहरू विस्थापित हुने बाटोमा अग्रसर रहेको टिप्पणी गर्नुभयो ।