गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस ५ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी व्यवस्थित हुँदै गएको बताउनुभएको छ । प्रेस सेन्टर नेपालबाट हालै सम्पन्न नेपाल पत्रकार महासङ्घको निर्वाचनमा विजयी पत्रकारलाई बिहीबार सम्मान गर्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो, “पार्टी एकढिक्का भएको छ । एकता बढ्दै गएको छ । उपनिर्वाचनले पार्टीमा उत्साह थपेको छ । पत्रकार महासङ्घको निर्वाचनसम्म आउँदा माओवादी ओरालोबाट उकालोतिर जाँदै छ भन्ने सङ्केत मिलेको छ ।”
उहाँले महासङ्घ केन्द्रमा कांग्रेस एमाले मिलेर धेरै मेहनत गर्दा पनि माओवादीनिकट कोषाध्यक्षसहित केही केन्द्रीय सदस्य जित्नु भनेको सामान्य नभएको बताउनुभयो । जितेका प्रदेश र जिल्ला जित्नु रणनीतिक छ । डडेलधुरा र झापा जिल्ला अध्यक्ष जित्नु अर्थपूर्ण रहेको उहाँको भनाइ थियो । उहाँले प्रेस सेन्टरमा केही साङ्गठनिक समस्या देखिए पनि मिलाएर लग्नुपर्ने बताउनुभयो । माओवादी चुनावी मामिलामा निपुण नभए पनि पत्रकारको चुनावसम्म आउँदा धेरै ज्ञान हासिल गरिसकेको उहाँको भनाइ छ ।
अखिलमा उमेरहदबारे मतदान हुने
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीमा ३२ वर्षे उमेरहदका बारेमा मतदान हुने भएको छ । उमेरहदको विषयलाई लिएर गत असोजमा भएको केन्द्रीय महाधिवेशन स्थगित भएको थियो ।
अब अखिल क्रान्तिकारीको सदस्य बन्न तथा नेतृत्वमा आउन ३२ वर्षे उमेरहद लाग्ने वा नलाग्ने विद्यार्थी संगठन आफैँले मतदानमार्फत टुङ्गो लगाउने छन् । मतदानमा कहिले, कहाँ र कोको सहभागी गराउने भन्ने टुङ्गो लागेको छैन । माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं अखिल क्रान्तिकारीका इन्चार्ज हिमाल शर्माले रोकिएको विद्यार्थीको राष्ट्रिय सम्मेलन उमेरहदको विषयमा निर्वाचन भएपछि मात्र टुङ्गो लाग्ने जानकारी दिनुभयो । उहाँले पुस महिनाभित्र उमेरहद र नेतृत्व चयन सबै सकिने गरी निर्वाचन कार्यतालिका सार्वजनिक हुने बताउनुभएको छ ।