रमेश विश्वकर्मा
गुल्मी, पुस ४ गते । नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीको कार्यालयमा लागेको ताला खुलेको छ । सदस्यता शुद्धीकरणपछि भएको विवादका कारण असार २०८० मा लगाइएको ताला सहमति भएपछि आज बिहिबार खुलेको हो ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीमा नवनिर्वाचित कार्यसमिति आएपछि दुवै पक्षको सहमतिमा ताला खुलेको नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीका सचिव सन्तोष महताराले जानकारी दिनुभयो । पत्रकारितामा क्रियाशील भएका कोही छुटेको भए र मापदण्ड पूरा गरेका क्रियाशील पत्रकारलाई सदस्यता प्रदान गर्ने सहमतीपछि दुवै पक्षको सहभागितामा ताला खुलाइएको छ ।
गत मंसिर २८ गते सम्पन्न नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीमा अनिल खत्रीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्वाचित भएको थियो । नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीका संस्थापक अध्यक्ष हरिकुमार श्रेष्ठले आफूहरु पनि महासंघको काममा अवरोध गर्ने उद्देश्य नरहेकाले छलफलबाट नै निष्कर्ष निकाल्न चाहेको बताउनुभयो ।
महासंघ जिल्ला शाखा गुल्मीका नवनिर्वाचित अध्यक्ष अनिल खत्रीले सबैसँग सहकार्य गरेर अघि बढ्ने बताउनुभयो । आन्दोलनरत पक्षको स्वागतयोग्य निर्णयलाई उच्च सम्मान गर्दै अब महासंघले सहमती, सहकार्य र एकताबाट काम गर्ने बताउनुभयो । यस शाखामा शुद्धिकरण पश्चात २५ जना साधारण सदस्य रहेका छन् ।