• ४ पुस २०८१, बिहिबार

पर्यटन क्षेत्रको विकासका लागि प्रदेश सरकार गम्भीर छ : मुख्यमन्त्री आचार्य

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै लुम्बिनी प्रदेशका मुख्यन्त्री चेतनारायण आचार्य। तस्बिरः सिराज खान

सिराज खान 

नेपालगन्ज, पुस ४ गते । लुम्बिनी प्रदेशका मुख्यन्त्री चेतनारायण आचार्यले प्रदेश सरकार पर्यटन क्षेत्रको विकासको लागि गम्भीर रहेको र त्यसको सुरुवात बर्दियाबाट गरिएको बताउनुभएको छ ।

प्रदेश सरकारले सुरु गरेको ‘घुम्न जाउ बर्दिया’ अभियानको बिहीबार ठाकुरबाबा नगरपालिकामा शुभारम्भ गर्दै मुख्यमन्त्री आचार्यले सो बताउनुभयो।

‘बर्दिया जिल्लाको ऐतिहासिक स्थल र यहाँ रहेको राष्ट्रिय निकुञ्ज भ्रमणको गन्तव्य स्थल हो’, उहॉले भन्नुभयो, ‘लुम्बिनी प्रदेश बासीलाई एक पटक बर्दिया पुग्नेगरी, भ्रमण गर्नेगरी हार्दिक आमन्त्रण गर्दै भ्रमण गर्न आह्वान गर्दछु ।’

प्रदेश सरकारले कर्मचारीलाई आन्तरिक पर्यटकीय क्षेत्रको भ्रमणको लागि दश दिनको समय उपलब्ध गराउने गरेको जानकारी दिँदै मुख्यमन्त्री आचार्यले कर्मचारीलाई पनि बर्दिया जिल्लाको भ्रमणकालागि आह्वान गर्नुभयो ।

बर्दिया जिल्लाको समस्या बर्दियाको मात्रै नभएर सिंगो प्रदेशको समस्या भएकाले प्रदेश सरकारले समाधानका लागि ध्यान दिने मुख्यमन्त्री आचार्यले सो अवसरमा प्रतिबद्धता पनि  व्यक्त गर्नुभयो । 

बर्दिया राष्ट्रिय निकुञ्ज सँगसँगै जिल्ला कै पर्यटकीय क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने मुख्य उद्देश्यले घुम्न जाउँ बर्दिया कार्यक्रम आयोजना गरिएको हो । 

देशका विभिन्न राष्ट्रिय निकुञ्ज भन्दा फरक जैविक विविधता बर्दिया राष्ट्रिय निकुञ्जमा रहेको, एकै दिनमा बाघ, गैँडा र जंगलीहात्तीको बथानका साथ साथै चित्तल जरायो बाह्रसिङ्गा विभिन्न प्रकारका चराचुरुङ्गी देख्न पाइन्छ ।

शुभारम्भ कार्यक्रममा लुम्बिनीसहित ७ वटै प्रदेशका पर्यटन मन्त्री, पालिका प्रमुख, राजनीतिक दल, संरक्षणकर्मी, पर्यटन व्यवसायी, सामाजिक तथा शैक्षिक संघ संस्थाका प्रतिनिधिको समेत सहभागिता रहेको थियो ।

लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात व्यवस्थामन्त्री प्रचण्ड विक्रम न्यौपानको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा अभियानको शुभारम्भ कार्यक्रम सम्पन्न भएको थियो ।