फडिन्द्र अधिकारी
लेखनाथ, पुस ४ गते। बिहीबार दिउँसो कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर १०, घान्द्रुकको वतासे डाँडामा भएको जीप दुर्घटनामा परी पाँच जना घाइते भएका छन्। दिउँसो पौने २ बजेतिर बतासे डाँडामा पोखराबाट घान्द्रुक जाँदै गरेको ग १ ज ६८२१ नम्बरको स्कारपियो जिप दुर्घटना भएको हो।
दुर्घटनाका घाइतेलाई होलिकोप्टरबाट उद्धार गरी पोखराको मणिपाल शिक्षण अस्पतला ल्याइएको छ। घाइतेमध्ये एकको अवस्था गम्भीर छ भने चार जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। मुस्ताङको थासाङ गाउँपालिकाको टुकुचेकी ७० वर्षीया भीमकुमारी थकाली दुर्घटनामा गम्भीर घाइते बन्नुभएको कास्कीका प्रहरी प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिनुभयो।
जीपमा सवार कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १६ की २० वर्षीया रिहाना थाकाली, टुकुचेकै ३१ वर्षीया ज्योति खत्री थथकाली, बागलुङको गलकोट नगरपालिका वडा नम्बर १, झाँक्रीस्थानका ७६ वर्षीया खिमकुमारी खत्री र वर्ष ५० की नवीना खत्री पनि घाइते हुनुभएको छ। घाइते सबैको मणिपालमै उपचार हुँदै छ।
चालकले गाडी रोकी बाटोको अवस्था हेर्न गएको समयमा गाडी ब्याक भई दुर्घटना भएको अन्नपूर्ण गाउँपालिका वडा नम्बर १० का वडाध्यक्ष गौतम गुरुङले बताउनुभयो। पछाडि सरेको गाडी सडकबाट करिब छ सय मिटर तल खसेको थियो।
प्रहरीले जिपका चालक स्याङ्जाको भीरकोट नगरपालिका वडा नम्बर २, डाँडाकोट बस्ने ४३ वर्षीय गोविन्द श्रेष्ठलाई नियन्त्रणमा लिएको छ। जिपमा सवार सात जना यात्रुमध्ये बागलुङको झाँक्रीस्थानकै ४० वर्षीया अनित खत्री भने सकुशल हुनुहुन्छ।